• १३ मंसिर २०८१, बिहिबार

कांग्रेस सभापति देउवा नेपालगन्जमा

blog

सभापति देउवाको विमानस्थलमा स्वागत गर्दै नेताहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १६ गते । नेपाली कांंग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालगन्जमा भव्य स्वागत गरिएको छ । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न दाङको अमिलिया जानका लागि शुक्रबार नेपालगन्ज विमानस्थलमा पुग्नुभएका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाको नेपाली कांग्रेस बाँकेले भव्य स्वागत गरेको हो । 

विमानस्थलमा सयौं नेता कार्यकर्ताले सभापति देउवालगायत कांग्रेस सह–महामन्त्री महालक्षी उपाध्याय, केन्द्रीय सदस्यहरु दीपक गिरी, कृष्णकिशोर घिमिरे र गोविन्दबहादुर शाह तथा स्वर्गीय नेता खड्काका पुत्र एवम प्रदेश सांसद अनुराग खड्कालाई फूलमालाले स्वागत गरिएको नेपाली कांंग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले बताउनुभयो । उहाँले सभापति देउवाको स्वागतका लागि विमानस्थलमा नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल, नेपाली कांंग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीलगायत पार्टीका महासमिति, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको बताउनुभयो ।

सभापति देउवा नेपालगन्ज विमानस्थलबाट सिधै दाङको अमिलिया प्रस्थान गर्नुभएको छ । दाङको अमिलिया चोकमा कांग्रेस नेता स्वर्गीय खड्काको शालिक निर्माण गरिएको छ । सभापति देउवा दाङको कार्यक्रम सकेर शुक्रबार बेलुका काठमाडौ फर्किने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति अधिकारीले बताउनुभयो ।