• १६ वैशाख २०८१, आइतबार

कतै आमाछोरा कतै सुत्केरी परीक्षार्थी

blog

पोखरा समाचारदाता 

पोखरा, चैत १६ गते । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कास्कीबाट छ जना दृष्टिविहीन र १६ जना सुस्त श्रवण विद्यार्थीले परीक्षा दिएका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अमरसिंह माविका पाँच जना र खुलातर्फ एक जना गरी छ जना दृष्टिविहीनले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएको जानकारी दिनुभयो । उनीहरूले आफ्नै विद्यालय अमरसिंह मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् । उहाँका अनुसार सिर्जना मावि लेखनाथका १६ जना सुस्तश्रवण भएका विद्यार्थीले लक्ष्मी मावि लेखनाथबाट परीक्षा दिएका छन् । 

यसै गरी बालसुधार गृहबाट नौ जना विद्यार्थीले परीक्षा दिएका छन् । पहिलो दिन कास्कीमा ४९ जना परीक्षार्थी अनुपस्थित भए । तीमध्ये २७ जना छात्रा र २२ जना छात्र हुन् । ग्रेड वृद्धितर्फ पहिलो दिनका लागि १० जनामध्ये दुई जना अनुपस्थित भए । आचार्यले पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण तवरबाट सम्पन्न भएको बताउनुभयो । 

कास्कीमा सामुदायिक र संस्थागत गरी २८७ विद्यालयका ३५ परीक्षा केन्द्रबाट कुल १० हजार १७४ जना परीक्षार्थीले परीक्षा दिँदै छन् । परीक्षार्थीमध्ये पाँच हजार ३०२ छात्र र चार हजार ८७२ छात्रा छन् । गत वर्ष ३४ परीक्षा केन्द्र तय भएकामा यसपालि पोखरा–१७, महतगौँडास्थित जानकी मावि परीक्षा केन्द्र थप भएको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक हिमलाल बास्तोलाले बताउनुभयो । परीक्षा केन्द्र बढे पनि यसपालि परीक्षार्थी गत वर्षभन्दा कम हुन् । गत वर्ष १० हजार १८९ जना थिए । 

कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरमा मात्रै ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । अन्नपूर्ण र रूपामा एक÷एक वटा केन्द्र छन्् । अन्नपूर्णको माछापुच्छे« मावि नागडाँडा र रूपाको चन्द्रप्रभा मावि भिरचोक हुन् । मादी र माछापुच्छे«मा परीक्षा केन्द्र तय नहुँदा त्यहाँका विद्यार्थी पोखरा आउनुपर्दा असुविधा भएको विद्यार्थी तथा अभिभावकको गुनासो छ । 

स्याङ्जा समाचारदाताका अनुसार पुतलीबजार नगरपालिका–४ मा रहेको सरस्वती मावि परीक्षा केन्द्रबाट दुई जना किरियापुत्रीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । 

फेदीखोला–४ घर भई सिद्धार्थ मावि फेदीखोला–१ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् । बाबाको मृत्यु भएको चौथो दिनमा उनीहरूले परीक्षा दिएका हुन् ।

पर्वत समाचारदाताका अनुसार यस वर्षको एसइईको पहिलो दिन पर्वत जिल्लामा १२ जना विद्यार्थी अनुपस्थित भए । शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार नियमिततर्फ १० जना र ग्रेड वृद्धितर्फ दुई जना विद्यार्थी अनुपस्थित हुन् । एकाइ प्रमुख उद्धिमराज पौडेलले जिल्लाभरिबाट कुल दुई हजार २८ जना विद्यार्थी सहभागी हुने गरी तयारी गरिएकामा पहिलो दिन १२ विद्यार्थी अनुपस्थित रहेको बताउनुभयो । 

आमाछोराले सँगै दिए परीक्षा 

मनाङ समाचारदाताका अनुसार मनाङ जिल्लामा आमाछोराले एकैसाथ एसइई दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले भन्नुभयो, “४२ वर्षीय आमा राधा थापा क्षेत्री र १६ वर्षीय छोरा जयराम थापा क्षेत्रीले सँगै परीक्षा दिएका छन् ।”

सुत्केरी पनि सहभागी 

म्याग्दी (दरबाङ) समाचारदाताका अनुसार म्याग्दीमा एक सुत्केरीले एसइई दिनुभएको छ । केन्द्राध्यक्ष टेकबहादुर केसीले जिल्लाको रघुगङ्गा गाउँपालिका–२ स्थित मुक्तिधाम मावि परीक्षा केन्द्रमा २६ दिनकी सुत्केरी दटिका छन्त्याल परीक्षामा सहभागी हुनुभएको जानकारी दिनुभयो । 

सुत्केरी छन्त्यालले गाउँपालिकाको वडा नम्बर ८ स्थित रितुङ माविबाट मुक्तिधाम मावि परीक्षा केन्द्रमा परीक्षा दिन आउनुभएको हो । केन्द्राध्यक्ष केसीले भन्नुभयो, “२६ दिनकी सुत्केरीले हाम्रो परीक्षा केन्द्रबाट परीक्षा दिनुभएको छ । सोही विद्यालयबाट सहभागी हुनुपर्ने अर्की छात्रा पनि डाक्टरले आज चैत १५ गते नै सुत्केरी हुने अनुमानित मिति दिएकाले परीक्षामा अनुपस्थित हुन नसकेको भन्ने खबर छ ।” 

त्यसै गरी सदरमुकाम बेनीको न्यु वेस्ट पोइन्ट आवासीय मावि परीक्षा केन्द्रमा ४१ वर्षीय कुमारी थापा र बेनी सामुदायिक मावि परीक्षा केन्द्रबाट उहाँका छोरा विपिन थापाले परीक्षा दिनुभएको छ । कुमारी उज्यालो वैकल्पिक विद्यालयबाट र विपिन प्रकाश माविबाट परीक्षामा सहभागी हुनुभएको हो ।