• १५ वैशाख २०८१, शनिबार

लेखनसँगै साहित्यतर्फ श्रेष्ठ

blog

काठमाडौँ, चैत १६ गते । नेपाली गीत, सङ्गीतमा चर्चा कमाइसकेका ओमशङ्कर श्रेष्ठले २०४६ सालदेखि यो क्षेत्रमा काम गर्न थाल्नुभएको हो । जुन बेला पप गीतको सुरुवात भएको थियो, त्यही समयदेखि गीत लेख्न सुरु गरेको उहाँले बताउनुभयो । श्रेष्ठले मुक्ति एन्ड रिभाइबलदेखि लिएर अनुप्रस्थ ब्यान्डका लागि गीत लेखिसक्नुभएको छ । निमा रुम्बा, सञ्जीव प्रधानलगायतका पहिलो गीत भएको समय त्यसभित्र उहाँको रचना पनि समावेश हुने गरेको थियो । १९९६ मा  बबिन प्रधानको सबै गीत आफूले नै लेखेको उहाँले बताउनुभयो । यस्तै १९९४ मा एउटा र १९९९ मा दुई वटा गीत त्यसमा एउटा अङ्ग्रेजी गीत पनि समावेश भएको उहाँ बताउनुहुन्छ । 

२०२४ सालमा काठमाडौँमा जन्मनुभएका उहाँ अहिले पनि सङ्गीतमा निकै सक्रिय हुनुहुन्छ । सानो छँदा गायक ओमविक्रम विष्टको गीत सुनेर हुर्किएको बताउने उहाँले अहिले विष्टसँगै मिलेर आधा दर्जनभन्दा बढी गीतमा काम गर्दै हुनुहुन्छ । 

उहाँका अनुसार हालसम्म करिब १३० जति गीत रेकर्ड भइसकेका छन् । राजेश पायल राई, रिमा गुरुङ, धीरज राईलगायतले उहाँको गीत गाउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले गीत लेख्दा शब्द रचनामा ध्यान दिने गरिन्थ्यो तर अहिले गीत लेख्न खासै गाह्रो छैन । अहिले जहाँ बसेर जुन बेला पनि गीत लेख्न सकिन्छ । जुन समय र प्रविधिले गर्दा भएको हो । 

पछिल्लो समय नेपाल भाषामा दुई वटा गीत लेख्नुभएको उहाँलाई गीत लेख्न खासै फुर्न नपर्ने बताउनुभयो । गीत, सङ्गीतसँगै उहाँले  चलचित्रमा पनि अभिनय गर्नुभएको छ । चलचित्र ‘गोमा’ मा मुख्य कलाकारका रूपमा देखिनुभएको छ ।  

गीतसँगै उहाँ कथा, कविता पनि लेख्नुहुन्छ । विद्यार्थीकालमा कविता वाचन गर्दा धेरै साथीले यस्तो फुच्चेले पनि कविता वाचन गर्न सक्छ भनेर जिस्काउने गरेको उहाँ सम्झनुहुन्छ । २०४६ सालमा मधुपर्कमा कविता छापिएको पनि उहाँले बताउनुभयो । उहाँका यथार्थ, सम्बन्धलगायतका उपन्यास प्रकाशित भएका छन् भने उहाँ अहिले उपन्यास नतालियाको तयारीमा हुनुहुन्छ ।