• १५ वैशाख २०८१, शनिबार

किरियापुत्रीदेखि बालबन्दीसम्मले लेखे एसइई

blog

एसइईमा सहभागी विद्यार्थी ।

काठमाडौं, चैत १५ गते ।  बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परिषद् (एसइई) मा किरियापुत्रीदेखि, बालबन्दी तथा विभिन्न उमेर समूहका विद्यार्थी उत्साहपूर्वक सहभागी भएका छन् । 

देशभर सञ्चालन भएको एसइई परीक्षामा सहभागी हुन पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए ।


स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट किरियापुत्री दाजुभाइ एसइईमा सहभागी भएका हुन्। 


यस्तै, बाँकेको दुई वटा बाल सुधार गृहमा रहेका ४६ जना बालबन्दी परीक्षामा सहभागी भएका छन् ।

जिल्लाको डडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बाल सुधार गृहमा रहेका ४६ विद्यार्थीले एसइई दिएका हुन् ।


यस्तै, सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै एसइई दिएका छन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि हिरासतमा रहेका किशाेर हरिवन नगरपालिका ९ स्थित ज्ञानज्योति आवासीय विद्यालयका प्रशिक्षार्थी हुन् ।


यसैगरी, खोटाङमा एसइईमा नियम विपरीत कार्य गर्ने विश्वज्योति माविका केन्द्र अध्यक्ष माधव प्रसाद ठाकुर कारवाहीमा परेका छन् ।

नियम विपरीत परीक्षार्थीलाई सहभागी गराएकाले ठाकुरलाई केन्द्र अध्यक्षबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।