नेपालमा प्रचलित पञ्चाङ्गमा धेरै प्रकारका संवत् उल्लेख गरिएको पाइन्छ । यी संवत्को आआफ्नै गणना र विशेषता भए पनि व्यावहारिक रूपमा भने विक्रम संवत्, इस्वी संवत् र नेपाल संवत्ले विशेष महत्व पाएका छन् । विक्रम संवत् र इस्वी संवत्को उद्गम नेपाली भूमि नभए पनि प्रचलनमा भने अग्रणी देखिएका छन् । नेपाल संवत्को प्रारम्भ भने नेपाली माटाबाटै भएर पनि यसले जुन रूपमा मान्यता पाउनुपर्ने थियो सो हुन नसकेको अनुभूत हुन्छ । यद्यपि प्रचलनमै नआएको भने होइन । नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण शाहको शासनकालमा यसले राष्ट्रिय संवत्को मान्यता पाएको अध्ययेताहरूले उल्लेख गरेका छन् । त्यसपछिका विभिन्न कालखण्डमा प्रचलनमा आएर पनि पुनः ओझेलमा पारिएको इतिहासमा उल्लेख पाइन्छ । नेपाल संवत् र शाके संवत्हरू तिथिको आधारमा चल्दै आएको र तिथिहरू घटबड भइरहने हुँदा सरकारी कामकाजमा अप्ठ्यारो परेकोले ज्योतिष सम्मेलन नै गराएर राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९६१ साल वैशाखदेखि विक्रम संवत् लेख्न प्रारम्भ गराएका थिए । सोही सरकारी मान्यताले विक्रम संवत् लोकप्रिय हुन पुग्यो भने नेपाल संवत् र शाके संवत्हरू तिथिबाट मात्र चलेकाले लोकप्रिय हुन नसकेको पञ्चाङ्ग जानकारहरूको भनाइ छ ।
विक्रम संवत्को वर्षमा ३६५ दिन हुने तर नेपाल संवत्को वर्षमा ३५४ दिन मात्र हुनाले व्यावहारिक कठिनाइ परेको अभिमत एकातिर छ भने अर्कोतर्फ नेपाल संवत्लाई नेवारी संवत् भएका कारण राज्यले विभेदपूर्ण व्यवहार गरेर ओझेलमा पारेको भन्नेहरू पनि उत्तिकै छन् । हाल आएर लामो समयदेखिको विवाद र नेपाल भाषासम्बद्ध सङ्घ संस्थाहरूको पहलमा सरकारले नेपाल संवत्लाई सरकारी मान्यता प्रदान गरेर कामकाजमै प्रयोगमा ल्याउने निर्णय गर्नुले मौलिक संवत्लाई न्यायपूर्ण व्यवहार गरिएको भन्दै अभियान्ताहरूले खुसी व्यक्त गरेका छन् ।
त्यसो त नेपाल संवत्लाई २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मन्त्रीपरिषद्बाटै राष्ट्रिय संवत्का रूपमा घोषित गरिएको थियो । औपचारिक रूपमा सरकारी कामकाजमा भने प्रयोग गरिए । २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘राष्ट्रिय मान्यता प्राप्त’ संवत्को रूपमा घोषाणा गरेपछि अब कार्यान्वयनमा आउने भएको हो । नेपाल संवत्का प्रवर्तकका रूपमा शङ्खधर साख्वाःलाई २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ‘राष्ट्रिय विभूति’ घोषणा गरेको स्मरणीय छ । लिच्छविकालका राजा राघवदेवको शासनकालका साख्वाःले ऋणमा डुबेका गरिबहरूको ऋण तिरिदिएर त्यसैको खुसियालीमा ‘नेपाल संवत्’ चलाएको किंवदन्तीसँग अनेक कथन जोडिएर आउने गरेका छन् ।
प्रचलित किंवदन्ती अनुसार राजज्योतिषहरूले निकालेको शुभ साइतमा भद्रमती र विष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए । त्यो बालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई सुझाएका थिए । सोहीबमोजिम राजाले शुभ साइतमा बालुवा झिक्न ज्यामीलाई पठाए । कान्तिपुरका व्यापारी शङ्खधर साख्वाःले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखेर ज्यामीलाई फकाइफुल्याइ गरी पैसा दिएर उक्त बालुवा आफ्नो घरमा राख्न लगाए । ज्योतिषहरूको भविष्यवाणी मुताविक सो बालुवा सुनमा परिणत भयो । तत्कालीन कान्तिपुरको इलाछेंका व्यापारी शङ्खधरले उक्त सुनबाट लोकको कल्याण गर्ने मनसायले विक्रम संवत् ९३६ मा कान्तिपुर र भादगाउँका जनतालाई ऋणमुक्त गराएको समेत इतिहासमा उल्लेख पाइन्छ ।
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ । नेपाल संवत्लाई सरकारी मान्यता प्रदान गरिए पनि प्रयोगमा भने अनेक कठिनाइ देखिएका सन्दर्भमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानको संयोजनमा स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्को ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ हालै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा गत सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इन्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गर्नुले प्रयोगमा अब सहज हुने ठानिएको छ । सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने भएको छ । जुन योगदानको उच्च मूल्याङ्कन गर्दै साख्वाःलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरिएको छ, उनैले प्रचलनमा ल्याएको संवत् कार्यान्वयनमा ल्याउनेतर्फका कठिनाइ हटाउन सबैको पहल आवश्यक छ ।