• १६ वैशाख २०८१, आइतबार

भूकम्पपीडितको अस्थायी टहरामा आगलागी

blog

आगलागी भएको अस्थायी टहरा । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, चैत १४ गते । रुकुमपश्चिममा भूकम्पपीडितको अस्थायी टहरा (आवास) मा आगलागी भएको छ । सानीभेरी गाउँपालिका –४ बलिबाङ निवासी खड्क ओलीको अस्थायी आवासमा बुधबार बेलुका अगलागी भएको हो । 

वडा अध्यक्ष मनोज बुढाथोकीका अनुसार बिद्युत सर्ट भएर ओलीको अस्थायी आवासमा आगलागी भएको बताइएको छ । गत कात्तिक १७ गतेको भूकम्पको कारण ओलीको घरमा क्षति भएपछि अस्थायी टहरा बनाएर उहाँको श्रीमती र छोराछोरी बस्दै आउनुभएको थियो । ओली बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर हुनुहुन्छ । 

आगलागीबाट टहरा बाहेक करिब दुई लाख ५० हजार बराबरको सामग्री जलेर नष्ट भएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । आगलागीमा परेर टहरामा राखिएका लत्ता कपडा, खाद्यान्न, दुई वटा मोबाइललगायतका सामग्री जलेका छन् । यसका साथै खाना पकाउने ग्यास सिलिण्डर समेत पड्किएर टहरामा थप क्षति भएको छ । 

आगलागीबाट मानवीय क्षति भने नभएको स्थानीयको भनाइ छ । स्थानीयवासी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।