• २८ फागुन २०८१, बुधबार

सङ्गीतमा रमाउने गाई

blog

जापानी काला र सुमारा गाईको हेरचाह गर्न दिनहुँ दर्जनौँ कामदार खटिएका हुन्छन् । नुहाइधुवाई गरेर सफा स्थानमा बस्न रुचाउने यी गाई पाल्न त्यति सहज छैन । यी काला जातिका गाई जापानको कोबे शहरमा निकै प्रसिद्ध छन् । 

यिनीहरूको नियमित आहारमा अन्य गाईको भन्दा भिन्न र दिनचर्या पनि अलग हुन्छ । यी गाई दूधका लागि भन्दा पनि निकै महँगो मासुका लागि पालन गरिन्छन् । गाईलाई कोबे गाई अर्थात् वाग्यु भनेर विश्वमा चिनिन्छ । बेलायत र कोरियाली गाईको वर्णशङ्करबाट जापानमा उत्पादन गरिएका यी गाईको विशेषता भनेको यिनबाट बोसो मिश्रित मासु उत्पादन हुनु हो । 

यो खालको मासु जापानको कोबे शहरमा मात्र उत्पादन हुने हुँदा त्यहाँबाट महँगो मूल्यमा विश्व बजारमा पुर्‍याइन्छ । नेपाली मूल्यमा हेर्दा किलोको ८५ हजारदेखि एक लाख रुपियाँसम्म पर्दछ । यो गाईको मासु धेरै महँगो भए पनि यसका पारखी धेरै छन् । मासुमा बोसो मिश्रित भएर छिर्केमिर्के देखिने यो खालको मासु तयार पार्न गाईपालक किसानले धेरै मेहनत गरेको हुन्छ ।

कोबे गाईको हेरचाहमा विशेष ध्यान दिनु पर्दछ । अन्य गाईको भन्दा यसको फरक आहारबिहार रहन्छ । यी काला जातिका गाईलाई दिनहुँ जसो साके (जापानी रक्सी) को चोकर या रक्सी नै पिलाउने गरिन्छ । साथै दुवै कानमा हेडफोन लगाएर मन्द ध्वनिमा सङ्गीत सुनाएर राखिन्छ । विशेष औजार प्रयोग गरी शरीरको नियमित मसाजसमेत गरिन्छ ।

यसरी सेवा गर्दा गाईलाई आनन्द प्राप्त हुन्छ र तनावरहित रहन्छ । सधैँजसो रक्सीले झुम्म भएर आनन्दसाथ रहने कोबे गाईको शरीर स्वस्थ र सुगठित सुमारो देखिन्छ । नियमित मसाजका कारण शरीरको बोसोको भाग मांसपेशीमा मिश्रित भई सङ्गमरमरको जस्तो हुन पुग्छ । 

लोकप्रिय कोबे गाई 

जापानको कोबे शहरमा पालिने कोबे गाई विश्वमा लोकप्रिय छ । यो गाई लोकप्रिय हुनुको पछाडि गाईको पालनपोषन र हेरचाहको तरिका तथा त्यसको विशिष्ट मासु नै हो । गुणस्तरमा ख्याल गरेर उत्पादन गरिने हुँदा कोबे गाईको मासुलाई उपल्लो स्तरमा राखिएको हुन्छ । 

जापानी पकवानमा कोबे बिफले धेरै महत्व बोकेको हुन्छ । कोबे गाईको मासुबाट स्टेक, तेपानाकी, गेउजा, डम्प्लिङ, सुकियाकी, शसीमी, सुशी, नेगियाकी, कोरोके, चुक्कालगायत कैयौँ परिकार बनाइन्छ । 

कोबे गाईको बिफ जेमा मिसाएर पस्कँदा पनि स्वादिष्ट हुन्छ । नुडल्स या जापानी निकु ज्यागा वा सोभा उडनमा पनि मिसाएर पस्कने गरिन्छ । 

  –युवामञ्च    

Author

आरबी बुढाथोकी