• १५ वैशाख २०८१, शनिबार

एसइईमा जम्मा चार विद्यार्थी

blog

फाइल तस्विर

राजकुमार भट्टराई 

खोटाङ, चैत १४ गते । खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने चार जना मात्र विद्यार्थी भएका हुन् । 

कक्षा १–१० सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले जम्मा ६२ जना विद्यार्थी छन् । हाल कक्षा ९ मा ५ जना मात्र विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक दिपबहादुर राईले बताउनुभयो । 

प्रधानाध्यापक राईकाअनुसार अर्को वर्ष पनि शान्तोदयबाट एसइई मा ५ जनाभन्दा बढी सहभागी हुने देखिदैन् । शान्तोदय माविमा कुनै समय एउटा कक्षामा ५० जनासम्म विद्यार्थी थिए । तर अहिले सोही विद्यालयबाट ४ जना विद्यार्थी एसइईमा सहभागी हुँदैछन् । 

अत्यधिक बसाइसराई र जन्मान्तर कमहुँदा विद्यार्थी सङ्ख्या निरन्तर घटेको प्रधानाध्यापक राईको भनाइ छ । अघिल्लो वर्ष १४ जना विद्यार्थी एसइईमा सहभागी थिए । सो विद्यालयको परीक्षा केन्द्र देउराली माविमा रहेको छ । 

ज्यामिरे सल्लेको शान्तोदय माविजस्तै जिल्लाका धेरै सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या खासै देखिदैन् । एसइईमा सहभागी हुने ९ देखि २० जना विद्यार्थी सङ्ख्या भएको विद्यालय धेरै रहेका छन् । 

देशभर चैत १५ अर्थात् बिहीबारबाट एसइई परीक्षा सुरु हुँदैछ । परीक्षाका लागि खोटाङमा २४ वटा परीक्षा केन्द्र तोकिएको छ । २ हजार ९ सय ५६ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । परीक्षाका लागि सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको इकाई निमित्त प्रमुख नन्दबहादुर विश्वकर्माले बताउनुभयो ।