• १५ वैशाख २०८१, शनिबार

बास्तोलाको खोजी गर्न सेती बाँध खोलिने

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १४ गते । सेती नदीमा हाम फालेर बेपत्ता हुनुभएका सुगम बास्तोलालाई खोज्न सेतीको बाँध खोलिने भएको छ । नदीमा पानीको बहाव बढाएर बास्तोलाको खोजी गरिदिन परिवारले निवेदन दिएकाले बाँध खोलिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसअघि फागुन २२ गते बाँध खोली खोजी भइसकेको छ । प्रहरीले अहिलेसम्म खोजी गर्दा नभेटिएको र फेरि बाँध खोलेर खोजी गर्न परिवारका सदस्यको अनुरोध भएपछि बिहीबार दिउँसो पोखरा –१६ मा रहेको बाँध खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो । 

प्रहरीले सो समयमा सेती नदी आसपास नजान र वरिपरि काम गर्नेलाई सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । पोखरा महानगरपालिका वडा ११ का १६ वर्षीय बास्तोला फागुन १८ गते साँझ साढे ५ बजे नदीपुरस्थित सेती नदीमाथिको पुरानो पुलबाट हाम फालेको प्रहरीले जनाएको छ । 

बास्तोला पोखराको नदीपुरस्थित बाल मन्दिर माविको कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । बास्तोलाको परिवारमा बुबा र दुई बहिनी छन् । उहाँका आमाको भने दुई वर्षअघि  निधन भइसकेको छ ।