• १६ वैशाख २०८१, आइतबार

२५ जना महिला गाइडले लिए माउन्टेन रेस्क्यु तालिम (फोटो फिचर)

blog

माउन्टेन रेस्क्यु सम्बन्धी तालिममा सहभागी महिला गाइड तथा आरोहीहरू । तस्बिर सौजन्य: गेल्जे शेर्पा

काठमाडौँ, चैत १४ गते । सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडहरूलाई रेस्क्यू सम्बन्धी तालिम प्रदान गरेको छ । सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडहरूलाई सात दिने रेस्क्यू तालिम प्रदान गरेको हो । 

माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरू उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिनुभयो । नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको प्राविधिक सहयोग रहेको उक्त तालिम  काठमाडौँको जकडोल जङ्गलमा चैत ७ गतेबाट सुरु भएर मङ्गलवार सम्पन्न भएको थियो । 


पदयात्रा र आरोहणका क्रममा पर्यटकहरूको मृत्यु हुनेको सङ्ख्या वार्षिक रूपमा बढ्दै गएकाले यो नियन्त्रणका लागि यो तालिम फलदायी हुने भएकाले तालिम आयोजना गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताउनुभयो । सीप र दक्षता बिनको जनशक्तिले पर्यटन क्षेत्रमै नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक भएको उहाँले बताउनुभयो । 

उद्धार सम्बन्धी २५ जना महिला गाइड सहभागी रहेको यो तालिम पहिलो पटक आयोजना गरिएको बताउनुहुँदै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सीँ ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताउनुभयो । सरकारले राखेको पर्यटन दशक ९२०२३–२०३३० को उद्देश्य पुरा गर्न समेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्नु पर्ने आवश्यकता भएको उहाँले बताउनुभयो । 

भीर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभास भित्र पसेका व्यक्तिलाई सहज रूपमा उद्धार गर्न र सुरक्षित स्थानमा पुर्‍याउने लगायत सक्ने गरी तालिममा अभ्यास गराइएको प्रशिक्षकहरूले बताउनुभयो । 

ट्रेकिङ गाइड र आरोहीहरू मात्र सहभागिता जनाएको तालिमले सहभागीहरूलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्‍याउने आयोजकले जनाएको छ । हालसम्म नेपालमा दावा याङजुम शेर्पा मात्र  महिला माउन्टेन गाइड बन्न सफल भएको छ ।