• १३ साउन २०८१, आइतबार

मर्स्याङ्दी जलविद्युतको उत्पादन ३९ मेगावाट घट्यो

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत् उत्पादन गृह । तस्बिर: गोरखापत्र

अमरराज नहर्की

तनहुँ, चैत्र १३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत् उत्पादन ठुलो परिमाणमा घटेको छ । यस वर्ष लामो समयसम्म पानी नपरेकोले ठुलो परिमाणमा उत्पादन घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो । 

सूख्यायामसँगै नदीमा पानी कम भएकाले उत्पादनमा आधा भन्दा धेरै मेगावाट घटेको गौतमले बताउनुभयो । ६९ मेगावाट क्षमताको केन्द्रले हाल ३९ मेगावाट घटेर ३० मेगावाट मात्रै उत्पादन भएको गौतमले जानकारी दिनुभयो ।

धेरै लामो समयसम्म पानी नपर्दा धेरै सुख्खा भएकोले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले उत्पादन घटेको उहाँले बताउनुभयो । हाल सुख्खा मौसम भएकाले यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको गौतमले बताउनुभयो । वैशाख लागेपछि घाम पनि चर्को हुँदै जाने भएकोले हिउँ धेरै पग्लिने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने केन्द्रले जनाएको छ  ।

सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता हुन्छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।