• १३ असोज २०८१, आइतबार

कर्णालीमा घटिरहेका छन् विद्यार्थी, खस्किँदो छ गुणस्तर

blog

फाइल तस्बिर

एसइईमा ३५ हजार ८०८ परीक्षार्थी, १८६ परीक्षा केन्द्र

सुर्खेत, चैत १३ गते । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सञ्चालन गर्न लागिएको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । परीक्षा बिहीबारदेखि सुरु भई २७ गते सम्पन्न हुनेछ । देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । कर्णाली प्रदेशमाका ३५ हजार ८०८ जना परीक्षार्थीहरू एसइईमा सहभागी हुँदैछन् । जसमध्ये छात्रतर्फ १७ हजार ६२३ र छात्रातर्फ १८ हजार १५८ जना  छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । 

जिल्लागत विवरण हेर्दा रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन् भने ३ हजार ५९३ जना परीक्षार्थी छन् । २५ वटा परीक्षा केन्द्र रहेको सल्यानमा ४ हजार ५८२ परीक्षार्थी छन् । विशेष गरी हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून देखिन्छ । सबैभन्दा कम डोल्पामा जम्मा ७३३ जना विद्यार्थीले एसइई दिँदैछन् । यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । हुम्लामा ६ वटा मात्र परीक्षा केन्द्र छन् भने विद्यार्थी एक हजार १९५ छन् । मुगुमा ८ वटा परीक्षा केन्द्र र १ हजार ११३ परीक्षार्थी छन् । यस्तै २४ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७३६ जना परीक्षार्थी छन् । जुम्लामा १६ परीक्षा केन्द्र २ हजार ५५७ परीक्षार्थी, जाजरकोटमा २२ परीक्षा केन्द्र ४ हजार ६९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्र ५ हजार २५७ परीक्षार्थी र सुर्खेतमा सबैभन्दा बढी ३३ वटा परीक्षा केन्द्र र ८ हजार ३४८ परीक्षार्थी छन् । निर्देशनालयका सूचना अधिकारी लोकप्रसाद पौड्यालले परीक्षामा सहभागी हुने परीक्षार्थीमा ८२६ जना ग्रेड वृद्धितर्फ छन् भने बाँकी नियमिततर्फ रहेको बताउनुभयो । उहाँका अनुसार कर्णालीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रश्न पत्रदेखि उत्तर पुस्तिकाहरू पनि परीक्षा केन्द्रहरूमा पुगिसकेको छ । 

परीक्षार्थीको सङ्ख्या घट्दै 

कर्णालीमा हरेक वर्ष एसइई दिने परीक्षार्थीहरूको सङ्ख्या वृद्धि हुनाको साटो घट्दै गइरहेको छ । गत वर्ष प्रदेशका ३८ हजार ९७० जना विद्यार्थी एसइईमा सहभागी बनेका थिए । यो वर्ष ३ हजार १६२ जना विद्यार्थीहरू घटेको देखिन्छ । राजधानी समेत रहेको सुर्खेतमा पनि विद्यार्थीको सङ्ख्या घटेको देखिन्छ । गतवर्षभन्दा एक हजारभन्दा बढी विद्यार्थी घटेको देखिन्छ । गत वर्ष सुर्खेतबाट ९ हजार १३९ विद्यार्थीले एसइई दिएका थिए । प्रायः सबैजसो जिल्लामा विद्यार्थी सङ्ख्या घटेको देखिन्छ । हिमाली जिल्लामा पनि विद्यार्थीको सङ्ख्या घटिरहेको छ । गत वर्ष हुम्लामा १ हजार २३४ विद्यार्थीले एसइई परीक्षा दिएका थिए भने मुगुमा १ हजार ६६६ र डोल्पाका ६९८ जना परीक्षार्थी थिए ।

कालिकोटमा ३ हजार ७६६, जुम्लाका २ हजार ८७७ जना परीक्षार्थी छन् ।  जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी छन् । विद्यार्थीको सङ्ख्या घट्नुको पछाडि गरिबी जोडिन्छ । आर्थिक अभावका कारण कतिपय विद्यार्थी ७–८ कक्षा पढ्दापढ्दै स्कुल छाड्ने गर्दछन् । तर सम्पन्न तथा जागिरे आमाबुबाहरू सरकारी विद्यालय भन्दा निजीतिर आकर्षित हुनाले पनि सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको सरोकारवाला बताउँछन् । उसै पनि कर्णालीमा १ कक्षामा भर्ना भएकामध्ये कक्षा १० सम्म पुग्दा विद्यार्थीहरू निकै न्यून हुने गरेको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ । 

नेपाल राष्ट्र बैङ्कले कर्णालीमा गरेको सर्वेक्षण अनुसार गत आर्थिक वर्ष वर्ष २०७९÷८० मा सरकारी तथा सामुदायिक विद्यालयमा ४.०१ प्रतिशतले विद्यार्थी सङ्ख्या घटेको छ । तर निजी विद्यालयमा भने २२.२३ प्रतिशतले वृद्धि भएको देखाएको छ । 

खस्किँदै गुणस्तर

बेलैमा पुस्तक नपाउने कर्णालीका विद्यार्थीको पढाइको गुणस्तर बर्सेनि खस्किँदै गएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा प्रदेशगत रूपमा सार्वजनिक गरेको एसइई नतिजा अनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जिपिए अङ्क ल्याएका छन्, जुन निकै कमजोर हो । एसइईमा प्रदेशबाट सहभागी परीक्षार्थी ३७ हजार तीन सय ६२ मध्ये ९५१ ले मात्र ‘ए’ ग्रेड ल्याए । गत वर्ष झन् नतिजा कमजाेर आयो । गत वर्ष जम्मा २४० विद्यार्थीले ३.६० देखि ४ जिपिए ल्याए । त्यस्तै १ हजार ३३२ विद्यार्थीले ३.२० देखि ३.६० जिपिए, ३ हजार ६८८ विद्यार्थीले २.८० देखि ३.२० जिपिए, ८ हजार ११२ विद्यार्थीले २.४० देखि २.८० जिपिए, ११ हजार २३९ विद्यार्थीले २ देखि २.४० जिपिए ल्याए । अन्य प्रदेशको तुलनामा भौगोलिक रूपमा विकट हुनु, राज्यले शिक्षामा पर्याप्त लगानी नगरिदिनु, गरिबीजस्ता कारणले कर्णाली शिक्षामा पछि परेको शिक्षाविद्हरू बताउँछन् ।

क्याप्सन ः शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेत । ः नवीन सुवेदी 


Author

नवीन सुवेदी