दोलखा समाचारदाता
दोलखा, चैत १३ गते । दोलखाको जिरीमा चैत २३ गतेदेखि हुने १० दिने जिरी महोत्सव २०८० को अन्तिम तयारी पूरा भएको छ । सदरमुकाम चरीकोटमा सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी गराइएको हो ।
नेपालको स्विट्जरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार मुल नाराका साथ हुने दोस्रो जिरी महोत्सवमा हुन लागेको मुख्य आयोजक उद्योग वाणिज्य सङ्घ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका नौ स्थानीय तह र छिमेकी जिल्ला रामेछपको गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिका साझेदार र नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैङ्क, एकीकृत फ्रेन्डसिप सहकारी, नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी प्रवर्धक रहेका छन् ।
जिरीभित्रका पर्यटकीय स्थललाई गन्तव्यका रूपमा विकास गर्न, स्थानीय मौलिक उत्पादनको प्रचारप्रसारलगायत महोत्सवको उद्देश्य रहेको छ ।