• १६ वैशाख २०८१, आइतबार

‘ललितकला प्रवर्धनमा तीन वटै सरकारको सहयोग आवश्यक’

blog

काठमाडौँ, चैत १३ गते ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मुलुकको अर्थतन्त्रलाई नै टेवा पुर्‍याइरहेको ललितकला क्षेत्रको प्रवर्धनका लागि तीन वटै सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । 

उहाँले राजधानीमा सोमबारबाट सुरु भएको पाँच दिवसीय बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८० को उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले ललितकलाको विकासका लागि स्थानीय तह, प्रदेश, सङ्घको नीतिगत र योजनाबद्ध सहकार्य हुन आवश्यक रहेको पनि बताउनुभयो ।

मन्त्री तामाङले भन्नुभयो, “नेपालको सबै भू–भागमा बसोबास गर्ने हरेक समुदायसँग फरक भाषा, संस्कृतिका साथै परम्परागत अभ्यासमा समेत कला जोडिएको छ ।  ललितकलाका हस्तकला, चित्रकला, मूर्तिकलालगायत थुपै्र विधाका माध्यमबाट देशलाई आर्थिक टेवा र पर्यटन भित्र्याउने माध्यमसमेत सिर्जना भइरहेको कुरा जगजाहेर नै छ, यो क्षेत्रको विकास र प्रवर्धनबाटै देशको समृद्धि सम्भव छ ।”  

उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको बागमती प्रदेश प्रतिष्ठान गठनका लागि आवश्यक  समन्वय गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानको १५ औँ प्राज्ञ सभाको निर्णय अनुसार यस पटक सातै प्रदेश र स्थानीय तहमा समेत स्थानीय कलाकारका सिर्जना समेटेर  प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

उहाँले ललितकला क्षेत्रको साझा जिम्मेवारी, साझा हकदारी र साझा उपलब्धिको लक्ष्य प्राप्तिका लागि प्रतिष्ठानले हरेक प्रदेश र स्थानीय तहसम्म पुगेर कलाकारको सिर्जनालाई कला पारखी, समीक्षक र दर्शकले अवलोकन गर्ने अवसरको थालनी गरिएको जानकारी दिनुभयो । 

प्रतिष्ठानका उपकुलपति एवं बागमती प्रदेशस्तरीय प्रदर्शनीका संयोजक लालकाजी लामाले नेपालका प्रसिद्ध कलात्मक मन्दिर, विहार, चैत्य, दरबारलगायत सांस्कृतिक र पर्यटकीय गतिविधि हुने क्षेत्रबाट उठेको राजस्वको केही प्रतिशत रकम ललितकलाको विकासलाई छुट्याउनुपर्ने माग गर्नुभयो । पुर्खाले बनाएको कलात्मक दरबार, मन्दिरहरू पर्यटकीय दृष्टिले गन्तव्य स्थान विकास भइरहेका बेला  नेपाली वास्तुकलाको निरन्तरताका लागि पनि मन्दिर, विहार, चैत्यलगायत दरबार सङ्ग्रहालयबाट उठ्ने राजस्व बाँडफाँटमा न्याय हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

सो अवसरमा कलाकार गौतमरत्न तुलाधर, बाजुराज द्यौला, मीरा भट्टराई, साइँला लामा, पूर्णप्रसाद ह्याजु र पुष्पाञ्जली शेरचनलाई सम्मान गरियो । प्रदर्शनीमा कलाकार राजेन्द्र देसारले ढुङ्गाको कलात्मक संयोजनबाट बनाउनुभएको ध्यानी बुद्ध, कलाकार सुरेम देसारले प्रकृतिको हलचललाई क्यानभासमा कैद गर्नुभएको विशाल चित्र राखिएका छन् । प्रतिष्ठानको प्राङ्गणमा कलाकार रोजन खड्काले प्रतिस्थापन कला अन्तर्गत बरफबाट बनेका नेपालको सीमास्तम्भ राखिएको छ । त्यसै गरी कलाकार रवीन्द्र श्रेष्ठले मानव सभ्यतालाई अगाढि बढाउन ढुङ्गा र सिक्काको सम्बन्ध कला प्रदर्शनीमा राख्नुभएको छ । 

प्रदर्शनीमा चित्रकला, वास्तुकला, थाङ्का, ढुङ्गा, काठ र विभिन्न धातुका मूर्तिकला, प्रतिस्थापन कलालगायत सबै विधाका २५७ वटा कलाकृति राखिएका छन् ।