काठमाडौँ, चैत १३ गते । आकर्षक तलब पाउने गरी घरेलु काममा लगाइदिने प्रलोभनमा पारेर भिजिट भिसामा ओमनको मस्कट पुगेकी युवतीलाई बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ ।
मानव बेचबिखनमा संलग्न पाल्पा तिनाउ गाउँपालिका–५ घर भई काठमाडौँको तारकेश्वर बस्ने विष्णुबहादुर रानालाई प्रहरीले बालाजुबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार घरेलु कामदारका रूपमा मासिक ९० हजार रुपियाँ तलब पाउने प्रलोभन देखाएर मस्कट पुर्याएपछि पक्राउ परेका रानाका साथीले ती युवतीलाई एजेन्ट अफिस लगेर मोबाइल, पासपोर्टलगायतका कागजपत्र जफत गरेका थिए । एउटा कोठामा बन्धक बनाइएकी युवतीलाई ती एजेन्टले ग्राहक बोलाउने र जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ ।
ती युवतीले प्रहरीमा दिएको जाहेरीमा जबरजस्ती वेश्यावृत्तिमा नलागे शारीरिक तथा मानसिक यातना दिने गरेको र आफू ३६ दिनसम्म बन्धक बनी नारकीय जीवन जिउन बाध्य बनेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।
प्रहरी उपरीक्षक मिश्रका अनुसार मस्कटको सो स्थानमा नेपाललगायतका अन्य देशका महिलालाई समेत त्यसै गरी बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको खुलेको छ । पीडितले आफूलाई वातानुकूलित कोठामा राखेर जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको र आफूले त्यसो गर्न नमान्दा कुटपिट गर्ने, खाना नदिने तथा कोठामा अत्यधिक चिसो वा तातो बनाई शारीरिक यातना दिने गरेको प्रहरीसमक्ष उजुरी दिएकी छन् ।
पीडित महिलाले आफूलाई नेपाल फिर्ता गरिदिन पटक पटक अनुरोध गर्दा एजेन्टले दुई लाख ५० हजार रुपियाँ मागेको र पीडितका श्रीमान्ले सो रकम पठाएपछि गत असोज २ गते पीडित युवती नेपाल फर्कन सफल भएको प्रहरीले जनाएको छ । यस घटनामा मुख्य अभियुक्त विष्णुबहादुर रानालाई शुक्रबार बालाजुबाट पक्राउ गरिएको र संलग्न अन्य प्रतिवादीको खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।