• ११ पुस २०८१, बिहिबार

क्षतिग्रस्त संरचना पुनर्निर्माणको प्रक्रियामा छन्

blog

पाँचथरको फालेलुङ गाउँपालिकाको भारतको सिक्किम र पश्चिम बङ्गालसँग सिमाना जोडिएको छ । साबिकका प्राङबुङ, सिदिन, एकतिन र याङ्नाम गाविसको आधा भागलाई समेटेर फालेलुङ गठन गरिएको हो । २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यो गाउँपालिकामा आठ वटा वडा छन् । चार हजार ८४१ घरधुरीमा ११ हजार ५६४ महिला र १० हजार ३२० पुरुष गरी २१ हजार ८८४ जनसङ्ख्या छ । पाँच हजार ५६५ हेक्टर वन क्षेत्र भएको यस गाउँपालिकामा २० हजार ३२० हेक्टर जमिनमा खेतीपाती लगाइन्छ । धान फल्ने बेँसीदेखि पहाडका कान्ला हुँदै हिमाली भूभाग छोएको यो गाउँपालिका कृषि उपज, नगदेबाली र पशुपालनका लागि प्रख्यात छ । अलैँची, अम्रिसो, चिराइतो र आलु पनि यहाँका मुख्य उत्पादन हुन् । राई, लिम्बू, तामाङ, मगर, क्षेत्री, बाहुन र दलितसँगै सबै समुदायका जातजातिको बसोबास रहेको फालेलुङ गाउँपालिकामा वन र जलसम्पदा पनि पर्याप्त छ । पालिकाको समुन्नत विकासका लागि स्थानीय सरकारले के कस्ता पहलकदमी गरिरहेको त ? प्रस्तुत छ, गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङसँग गोरखापत्र दैनिकका फिदिम समाचारदाता राधा लुइटेलले गरेको कुराकानी :

यहाँले गाउँपालिकामा नेतृत्व सम्हाल्नुभएको दुई वर्ष पुग्नै लाग्यो, यस अवधिमा हासिल गरेका उपलब्धिलाई कसरी सम्झिनुहुन्छ ?

हामीले सडक र पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यले अन्तिम रूप लिँदै छ । पाँच श-याको अस्पताल निर्माण भइरहेको छ । यसअघि निर्माण भएका सडकको दिगोपना र स्तरवृद्धि, पर्यटन विकास, पशुपालन र कृषि व्यवसायलाई प्रवर्धन गर्नु हाम्रा प्राथमिकताका विषय हुन् ।

यस वर्ष हासिल गरेका मुख्य उपलब्धिलाई के के हुन् ?

यस वर्ष हामीले बर्सातको सुरुवातबाटै प्रकोपको सामना ग-यौँ । असार २ गते गएको बाढीले दुई वटा मोटरेबलसहित पाँच वटा पुल, खानेपानी योजना, सडक, १२ वटा सिँचाइ योजना बगाउनुका साथै भौतिक संरचनामा ठुलो क्षति पुग्यो । बाढीका कारण सदरमुकामसँगै छिमेकी गाउँपालिकासँग सडक सम्पर्क टुट्यो । एक जनाको ज्यान गयो भने २५ परिवार विस्थापित भए । बाढी आएकै दिनदेखि राहत उद्धार र पुनर्निर्माणमा केन्द्रित हुनु प-यो । रातारात खटेर ह्युमपाइप राखेर डाइभर्सन गर्दै आवागमनलाई सहज बनायौँ । खाद्यान्न सङ्कट हुन दिएनौँ । यो क्रममा गाउँपालिका टिम त लाग्यो नै फालेलुङका नागरिकले स्थानीय सरकारलाई भरपुर सहयोग गर्नुभयो । विपत्को सामना, पुनर्निर्माण, राहत र उद्धार नै यो वर्ष हाम्रो प्राथमिकतामा प-यो । सबै काममा सफलता पनि हात पा-यौँ ।

पुनः बर्खायाम सुरु हुन लाग्यो, बाढीले पुल बगाएका ठाउँमा अस्थायी डाइभर्सन त बनेका छन्, पुनर्निर्माणको काम चाहिँ के भइरहेको छ ?

बाढीले बगाएका पुल पुनर्निर्माण गर्न गाउँपालिकाको सामथ्र्यले भ्याउँदैन । बगेका ठुला तीन वटामध्ये दुई वटा पुलको प्रदेश सरकार र एउटा स्विस सरकारले बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । प्रव्रिmया चाँडै अगाडि बढ्छ भन्ने विश्वास छ । अन्य संंरचनाको पुनर्निर्माणका लागि प्रदेश र सङ्घ सरकारसँगै दातृ निकायसँग समन्वय र सहकार्य गरिरहेका छौँ ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा के चुनौती छ त ?

विशेषतः बजेट नै हो । सङ्घ र प्रदेश सरकारले पठाउने विकास बजेट अत्यन्तै कम छ । राजस्व बाँडफाँट र वित्तीय समानीकरण शीर्षकको रकम बर्सेनि घटिरहेको छ । सङ्घ र प्रदेशमा सरकार परिवर्तन भइरहँदा पनि स्थानीय सरकार सञ्चालनमा प्रभाव पर्ने गरेको छ । मुख्यतः उपल्लो सरकारको अनुदान र सहयोगमा सञ्चालन हुने मझौला र ठुला आयोजनामा पर्याप्त बजेट नआउनु नै पुनर्निर्माणको मुख्य चुनौती हो ।

भौतिक पूर्वाधारबाहेक यहाँहरूले अरू कुन कुन विषयलाई प्राथमिकतामा राख्नुभएको छ नि ?

स्वास्थ्य र शिक्षा नै हाम्रो प्राथमिकता हो । हामीले शिक्षा सुधारका लागि नियमित विद्यालयको अनुगमन त गर्छौं नै, विद्यार्थी र अभिभावकको मनोविज्ञान बुझेर कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई निःशुल्क पोसाक उपलब्ध गराएका छौँ । करारमै भए पनि जनशक्ति व्यवस्थापन गरेका छौँ । स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन बिमा अभिकर्तालाई पालिकाबाटै आधारभूत तलब भुक्तानीको व्यवस्था मिलाएका छौँ । विद्यालयमा सट्टा शिक्षक राख्ने कामलाई रोकेर शिक्षकलाई नियमित गराएका छौँ । यी कामलाई निरन्तता दिने हाम्रो प्रतिज्ञा छ ।

फालेलुङको विशेषता चौँरीपालन पनि हो, 

चौँरी प्रवर्धनका लागि पनि केही काम भएका छन् कि ?

चौँरी प्रवर्धन पनि हाम्रो प्राथमिकताको विषय हो । फालेलुङ र चौँरी एकअर्काका पर्याय हुन् । त्यसैले चौँरीको चरन क्षेत्र संरक्षणका लागि पालिकामा रहेका कबुलियती वनलाई प्रयोग गर्न समुदायसँग समन्वय गरिरहेका छौँ । फालेलुङ गाउँपालिका चौँरी महोत्सव आयोजना गर्ने नेपालकै पहिलो र एक मात्र स्थानीय तह हो । २०७४ सालदेखि प्रत्येक वर्षको वैशाख १ गते फालेलुङमा चौँरी महोत्सव आयोजना हुन्छ । महोत्सवले चौँरीको व्यापक प्रचारप्रसार भएको छ । देशविदेशदेखि चौँरी हेर्न पर्यटक फालेलुङ आइपुग्छन् । चौँरीको घिउ, छुर्पी र चिजको अन्तर्राष्ट्रियस्तरसम्म बजारीकरण भएको छ । भुटान सरकारसँगको सहकार्यमा नस्ल सुधारका लागि याक ल्याएर प्रजनन गराइँदै छ । फालेलुङ चौँरीपालन मात्रै नभएर गाईभैँसी, भेडाबाख्रा र सुँगुरसहितका पशुपालनका लागि पनि उर्वर छ । पशुमा लाग्ने रोग नियन्त्रण गर्न खोप अभियान सञ्चालन पनि गर्दै आएका छौँ ।

पालिकाको ‘लाइफलाइन’ साबित हुने जोरपोखरी–एकतिन मेमेङ–तीन सिमाना जोड्ने मोटरबाटोसँगै अन्य महत्त्वपूर्ण योजना अधुरा छन् । यिनीहरूलाई पूर्णता दिन सम्बन्धित निकायसँग समन्वय भएको छ कि छैन ?

सङ्घ र प्रदेश सरकारका विभिन्न निकायमार्फत फालेलुङ गाउँपालिकामा सञ्चालन भइरहेका महत्त्वका योजनाको अनुगमन पनि हामीले स्थानीयस्तरबाट गरिरहेका छौँ । निर्माण व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायसँग निरन्तर छलफल र संवादमा छौँ । आवश्यक बजेट निकासाका लागि माथिल्लो निकायमा पहलकदमीसँगै गुणस्तरीय काम गराउन हाम्रो भूमिका निरन्तर छ ।