• २२ असार २०८१, शनिबार

मालागेडीले मालामाल

blog

रुखबाट खसेका सुगन्ध कोकिलाको फल टिप्दै स्थानीय । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, चैत ११ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटनिवासी कौशिला वलीले यो वर्ष तीन क्विन्टलभन्दा बढी सुगन्ध कोकिला अर्थात् मालागेडी बिक्री गरेर डेढ लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुभएको छ । 

मौसमले साथ दिएर रुखमा राम्रो फल लागेपछि एक लाख ७० हजार रुपियाँभन्दा बढी सुगन्ध कोकिलाको फल बिक्री भएको वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षको तुलनामा यस वर्ष राम्रो फल लाग्दा आम्दानी पनि सन्तोषजनक भएको छ ।” उहाँले करिब पाँच कठ्ठा जग्गामा मालागेडीको बिरुवा लगाउनुभएको छ । अन्य कृषि उब्जनी खासै नहुने यस क्षेत्रमा सुगन्ध कोकिलै प्रमुख आम्दानीको स्रोत बन्दै गएको उहाँको भनाइ छ । 

त्यसै गरी छिल्लीकोटकै परवीर पुनले दुई लाख रुपियाँभन्दा बढीको सुगन्ध कोकिला बिक्री भएको बताउनुभयो । उहाँले यो सिजनमा करिब चार क्विन्टल सुगन्ध कोकिला बिक्री भइसकेको बताउनुभयो । पुनले भन्नुभयो, “फूल खेल्ने समयमा असिनापानी पर्दा विगतका दुई वर्षसम्म राम्रो उत्पादन हुन सकेको थिएन तर यो वर्ष भने मौसम अनुकूल हुँदा उत्पादन राम्रो भयो । आम्दानी पनि बढ्यो ।” 

व्यवसायीले घरघरमै आएर सुगन्ध कोकिला किन्ने गरेका छन् । छिल्लीकोटकै धनबहादुर पुनले १२ क्विन्टल सुगन्ध कोकिला बिक्री गर्दा करिब सात लाख रुपियाँ आम्दानी भएको बताउनुभयो ।

उहाँले निजी वनसँगै राष्ट्रिय वनमा रहेका बोटबाट फल सङ्कलन गरेर बिक्री गर्दा छ लाख ८२ हजारभन्दा बढी आम्दानी गर्न सफल भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यो बिरुवा एक पटक रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र अन्य कृषिबालीजस्तो मेहनत पनि नपर्ने हुँदा छिल्लीकोटका करिब ५० भन्दा बढी घरपरिवारले सुगन्ध कोकिलाका बिरुवा लागएका छन् ।” 

न्यूनतम दुई क्विन्टलदेखि १२ क्विन्टलसम्म सुगन्ध कोकिला बिक्री गर्दा दुई करोड रुपियाँबराबर आम्दानी भएको स्थानीय पुन बताउनुहुन्छ । उहाँका अनुसार लोपोन्मुख प्रजातिको सुगन्ध कोकिला छिल्लीकोट अन्तर्गत खानीगाउँ, चुचुर्के, तिनुखोला, डोटेलडाँडा, पीपलडाँडा, पैयाँटाकुरालगायत आसपासमा मालागेडी प्रशस्त उत्पादन हुने गर्छ । 

डिभिजन वन कार्यालय घोराहीका कार्यालय प्रमुख मोहन श्रेष्ठका अनुसार यहाँका प्रत्येक घरपरिवारले १०/१५ देखि ५० वटासम्म बिरुवा लगाएका छन् । साथै सामुदायिक वनक्षेत्रमा पनि यसैको खेती हुने गरेको छ । 

उहाँका अनुसार जिल्लाबाट आर्थिक वर्ष २०७९/८० मा ६९ हजार सात सय केजी सुगन्ध कोकिला निकासी भएको थियो । यस वर्षको भने सबै तथ्याङ्क प्राप्त भइनसकेको श्रेष्ठको भनाइ छ । सुगन्ध कोकिला अत्तरसँगै नुहाउने साबुन, स्याम्पु, अगरबत्तीलगायतका विभिन्न सामग्रीमा प्रयोग हुने गर्छ ।