• १३ साउन २०८१, आइतबार

अन्नपूर्ण आरोहणका लागि आधार शिविर पुग्न थाले आरोही

blog

अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १० गते ।
 म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित  आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीहरू आधारशिविर पुग्न थालेका छन् । वसन्त याममा अन्नपूर्णको आरोहण गर्न पाँच समूहका ५४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

वसन्त यामको पहिलो टोली आरोहणका लागि आधार शिविर पुगेको अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गे अल्टिच्युडमार्फत हिमाल आरोहणका लागि आएको पहिलो टोलीका चारजना आरोहीहरू आधार शिविर पुगेका हुन ।

अस्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका एक/एकजना आरोही शेर्पा र सहयोगीको टोलीसहित आधार शिविर पुगेको उहाँले बताउनुभयो । अनुमति लिएका अन्य आरोहीहरू पनि आधार शिविर आउने क्रममा रहेको उहाँको भनाइ छ ।

यसपालि अस्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने तयारी गरेको पर्यटन व्यवसायी शेरचनले जानकारी दिनुभयो । फ्रान्सेली नागरिक मौरिस हर्जोगले सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलोपटक आरोहण गर्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो ।

अन्नपूर्णको आरोहण प्रायजसो उत्तरी आधार शिविरबाट गर्ने गरिन्छ । नारच्याङदेखि अन्नपूर्ण आधार शिविरसम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माण गरिएको छ । उक्त पदमार्गलाई मौरीस हर्जोग पदमार्ग नामकरण गरिएको छ ।

पछिल्ला केही वर्ष यता हिमाल आरोही र पर्यटकहरू आउन थालेपछि गाउँपालिका आधार शिविरमा भौतिक पूर्वाधार निर्माणमा जुटेको छ । आधार शिविर र पदमार्गको पर्यटन गुरुयोजना बनाउन हालै मात्र पर्यटन विज्ञ, प्राविधिकसहित पालिकाको टोलीले अध्ययन समेत गरिसकेको छ । आधार शिविरमा पर्यटकका लागि लज सहितको पूर्वाधार निर्माण गर्ने योजना पालिकाले अगाडि सारेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।