• १५ वैशाख २०८१, शनिबार

परम्परा जोगाउँदै फागु पर्व

blog

तानसेन, चैत १० गते । पाल्पामा ऐतिहासिक परम्परा अनुसार फागु पर्व मनाउने तयारी भएको छ । पाल्पासहित पहाडी जिल्लामा शनिबारदेखि नै फागु नाच्ने प्रचलन रहेको छ । 

पाल्पाको ऐतिहासिक स्थल लालपाटी, चिदीपानी, रिब्दीकोट, तानसेनमा फागु (होली) पर्वमा विविध कार्यक्रम गर्ने तयारी छ । परम्परादेखि स्थानीय भेला भएर बगनासकाली–१ को लालपाटीमा रङ लगाएर रमाइलो गर्ने प्रचलन छ । यो वर्षदेखि स्थानीय बासिन्दाको पहलमा सांस्कृतिक कार्यक्रमसहित आपसी सद्भाव साटासाट गरिने स्थानीयवासी दीपेन्द्र ढकालले बताउनुभयो । लालपाटीमा होलीको दिन विभिन्न क्षेत्रका आफन्त तथा साथीभाइ भेट भएर रमाइलो गर्ने, व्यापार गर्ने तथा रङ लगाउने प्रचलन कायम रहेको उहाँले बताउनुभयो । यस्तै माथागढी गाउँपालिकाको चिदीपानीमा फागु नाच गर्ने तयारी गरेको छ । चिदीपानीमा परम्परादेखि प्रचलनमा रहेको फागु नाच नाचेर होलीलाई रमाइलो बनाउने तयारी गरिएको माथागढी–१ का अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । 

फागु पर्वको मौलिकतामा ह्रास आएको र चाडपर्वमा आयातित संस्कृति हाबी हुँदै गएको भन्दै मौलिक संस्कृति जगेर्ना गर्न फागुविशेष कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । फागुको मौलिक गीत र प्रचलनबारे जानकारी दिन कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।