• १३ साउन २०८१, आइतबार

एयर इन्डियासँग सहकार्य गर्दै निगम

blog

काठमाडौँ, चैत १० गते । नेपाल वायु सेवा निगमले भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) लाई प्रभावकारी बनाउन एयर इन्डियासँग सहकार्य गर्ने भएको छ । निगमले एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्नेलगायत विषयमा छलफल थालेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत क्याम्पबेल विल्सनबिच सो विषयमा छलफल भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्नेलगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको दुवै एयरलाइन्सबिच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने उहाँले बताउनुभयो । हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५१ वर्षदेखि यो सेवा दिँदै आएको छ । निगमले सन् १९७२ देखि नै यो सेवा दिन थालेको हो । ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत यात्रुको बोर्डिङ, चेक–इन, ब्यागेज, कार्गो ट्रली, ¥याम्प बसलगायत सेवा दिनुपर्ने हुन्छ । नेपालमा निगमले मात्र अरू एयर लाइन्सको व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको अनुमति पाएकामध्ये २८ वटा एयर लाइन्सका ८० भन्दा बढी उडानको ग्राउन्ड ह्यान्डलिङ निगमले गर्दै आएको छ । एयर इन्डिया र बुद्ध एयरले भने सेल्फ ह्यान्डलिङ (आफ्नो उडान आफैँ) गर्दै आएका छन् । निगमको आम्दानीको मुख्य स्रोत मानिएको ग्राउन्ड ह्यान्डलिङबाट निगमले वार्षिक पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।