• १३ साउन २०८१, आइतबार

श्रीमानको हत्या गर्न रकम दिने च्याङ्वासहित चार पक्राउ

blog

श्रीमानकाे हत्या गर्न ९० हजार दिने कान्छी लामासहित हत्या अभियोगमा पक्राउ परेकाहरु । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ९ गते । कास्की प्रहरीले श्रीमानको हत्या गर्न रकम दिने महिला सहित हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । ३५ वर्षीया च्याङ्वा भनिने कान्छी लामासहित सिन्धुपाल्चोककै थप तीन जना पक्राउ परेका हुन् । 

जुगल गाउँपालिका ३ गुम्बा बोल्दे घर भएका ३६ वर्षीय रामबहादुर थापाको हत्या गर्न रकम दिने थापाकी श्रीमती लामा सहितलाई विभिन्न मितिमा पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । हत्या अभियोगमा धनबहादुर लामा, नवीन तामाङ भनिने फुर्वा लामा र अजित तामाङ भन्ने छे दोर्जे लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको हो । कान्छीलाई सिन्धुपाल्चोकको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । 

कान्छीका प्रेमी धनबहादुर लामा पाँच वर्षअघि थापाले चलाउने एक्स्काभेटर सहचालक भएको अनुसन्धानका क्रममा खुलेको छ । थापालाई हत्या गर्न कान्छीले ९० हजार दिएको प्रहरीले जनाएको छ । धनबहादुर लामाले हत्यापछि शव व्यवस्थापनमा सहयोग गर्ने छे दोर्जे लामा र फुर्वा लामालाई जनही २० हजार दिएको र ५० हजार आफूले राखेको प्रहरीसँग स्वीकारेका छन् । 

चैत १ गते सिक्लेस हाइड्रो जाने बाटोमा वादविवाद हुँदा धनबहादुरले पछाडिबाट ढुङ्गा प्रहार गरी थापाको हत्या गरेका थिए । ३० वर्षीय धनबहादुर सिन्धुपाल्चोकको साँगाचोकगडी १ का बासिन्दा हुन् । हत्यापछि करिब २५ मिटर तल एकान्तमा शव फालिएको थियो । चैत ३ गते बिहान ११ बजे कास्कीको मादी गाउँपालिका १ तउरेती नजिक एक पुरुषको शव फेला परेको थियो । 

प्रहरीले अनुसन्धान गरी शव थापाको भएको यकिन गरेको थियो । प्रहरी नायब उपरीक्षक विकले तालिम प्राप्त कुकार, प्राविधिक विश्लेषण, सिसिक्यामेरा फुटेज लगायतको सहयोगमा अनुसन्धान गरी प्रहरीले संलग्नहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

थापासहित चार जना फागुन ३० गते राति काठमाडौँबाट सिक्लेस हाइड्रोमा काम गर्न हिँडेका थिए । मृतक र कान्छी लामाबिच पाँच-छ वर्षबाट मनमुनाव रहेको, मृतकले दुई वर्षअघि अर्को विवाह गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । थापा बहुविवाह कसुरमा जेल सजाय भुक्तान गरी छ महिनाअघि जेल मुक्त भएका थिए । 

पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा चैत ६ गते कास्की जिल्ला अदालतबाट एक हप्ता म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।