काठमाडौं, चैत ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित सामाजिक विकास एकाइ कार्यालय राजविराजका सब–इन्जिनियर अजयकुमार साफी भन्ने अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग ७० हजार घुस लिएको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सबइन्जिनियर रजकले नगद १५ हजार र ५५ हजारको चेक दिइसकेको अवस्थामा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो । रजकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (घ) अन्तर्गतको कसुर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।
प्रवक्ता घिमिरेका अनुसार रजकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७० हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको छ ।