गोरखा जिल्लाको उत्तरी सीमावर्ती क्षेत्रमा अवस्थित चुम उपत्यकामा रहेका चुम्चेत, छेकम्पार, छोच्युक्सम र निब्री गाउँमा सियार (चुम्बा) जातिको बसोबास छ । यिनीहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सियार जाति भनेर आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ ।
गणेश र सिङ्ग्री हिमालको फेदमा अवस्थित उपत्यकामा रहेका सियारहरू मूलतः बौद्धधर्मावलम्बी छन् । गोरखाको उत्तर–पूर्वबाट पश्चिम–दक्षिण बग्ने सियार नदीका कारण पनि यस क्षेत्रमा बस्ने यस जातिको नाम सियार भएको हुन सक्छ । अर्कोतिर चुम उपत्यकामा बस्ने भएकाले चुम्बा भएको सहजै अनुमान लगाउन सकिन्छ ।
यिनीहरूको मूल थलो चीनको स्वशासित क्षेत्र तिब्बत हो । तिब्बती भाषामा नुब्री भनेको पश्चिम र श्यायर भनेको पूर्वतिर भन्ने हुन्छ भन्दै कतिपय लेखकले श्यायरबाट सियार भएको हुन सक्ने अनुमान लगाएका छन् । साथै स्थान नुब्रीबाट जातीय नाम नै नुब्री रहेको हुन सक्ने पनि बताइन्छ । सियारहरू छदेखि सात सय वर्षअघि तिब्बतबाट नेपाल प्रवेश गरेको अनुमान गरिएको छ ।
यिनीहरू कतिपयले आफ्नो थरमा लामा लेख्ने गर्छन् तर कतिपयले भने सियार, निब्री वा चुम्बा पनि लेख्ने गरेका छन् । यसले गर्दा जनसङ्ख्याको तथ्याङ्क तलमाथि परेको हुन सक्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार चुम्बा/नुब्री(सियार) को जनसङ्ख्या चार हजार ४१४ जना रहेको छ । यसअघिका जनगणनामा चुम्बा/नुब्री(सियार) को सङ्ख्या उल्लेख थिएन तर यस पटकबाट चुम्बा/नुब्री भनेर नयाँ जातिका रूपमा जनगणना गरी जातीय सङ्ख्या उल्लेख गरियो ।
राष्ट्रिय जनगणनाको जातीय जनसङ्ख्याको तथ्याङ्कमा ‘सियार’ भनिएको छैन । अर्कोतर आदिवासी जनजाति प्रतिष्ठानले चुम्बा वा नुब्री नभनी ‘सियार’ भनेर यो जातिलाई अति सीमान्तकृत जातीय समूहमा सूचीकृत गरेको छ । नाममा फरक परे पनि गोरखाको यस क्षेत्रमा चुम्बा/नुब्री/सियारको बसोबास छ र यिनीहरू तामाङ वा भोटेभन्दा अलग जाति हुन् भन्नेमा विवाद छैन ।
जानकारहरूका अनुसार विगतमा यिनीहरूलाई भोटे वा तामाङ भनेर तिनै जातिको सङ्ख्यामा समावेश गरिएको थियो । राष्ट्रिय राष्ट्रिय जनगणना २०७८ मा भने आफ्नो जातको नाम चुम्बा, सियार वा नुब्री लेखाउन स्थानीय युवाले अभियान नै चलाएका थिए । पछिल्ला वर्षमा यिनीहरूले गोरखाको तलतिर झरेर बसोबास गर्ने गरेका छन् भने कतिपयले चुममै बसेर व्यापार, कृषि तथा पशुपालन गरेको देखिन्छ । यिनीहरूको आर्थिक अवस्था निकै कमजोर छ । विकासको मूलप्रवाहले छोएको छैन ।
आठौँ शताब्दीमा बौद्धधर्म गुरु मिलारेपाले चुम्बा उपत्यकामा आई ध्यान तथा धर्म प्रचार गरेकाले बौद्धमार्गी सियार (चुम्बा) हरूले यस क्षेत्रलाई पवित्र धार्मिक तथा सांस्कृतिक महत्वको क्षेत्र मान्दछन् । यस ठाउँलाई चुम्बाहरूले ‘वियुल’ पनि भन्ने गर्छन् । तिब्बती भाषामा ‘वियुल’ भनेको ‘विलुप्त’ वा लुकेको भन्ने हुन्छ ।
बौद्ध लामाहरूले ध्यान गर्दा अन्य मानिससँगको सम्पर्कबाट टाढा रहनुपर्ने भएकाले यस क्षेत्रलाई ‘वियुल’ भनिएको हो । १२ औँ शताब्दीमा बौद्ध धर्मगुरु पद्म सम्भवले यहाँ आएर ध्यान गरेको विश्वास गरिन्छ । चुम्बाहरूको मात्र बसोबास रहेको यस क्षेत्रमा विभिन्न शिलालेख, गुम्बा, चैत्य, विहार, गुफा, मानी, रहेका छन् । यो उपत्यका रहस्यात्मक र धार्मिक प्रकृतिको देखिन्छ ।
चुम्बा/सियारहरू असली अहिंसावादी छन् । यो गाउँमा कुनै पनि प्रकारका जीवजन्तुको हत्या गर्न पाइँदैन । काटमार गरे सजाय हुन्छ । लामा सेराप दोर्जे दु्रपाले रिम्पोचेले सन् १९२० मा चुम उपत्यकालाई ‘साक्या’ (हिंसारहित) क्षेत्र घोषणा गर्दै अहिंसाका लागि सात बुँदा पारित गराएका थिए । जसअनुसार यस उपत्यकाभित्र बसोबास गर्नेले कुनै पनि जन्तु (घरपालुवा वा जङ्गली) को सिकार गर्न पाइन्न । जनावर तथा पक्षीलाई पासोमा पार्न पाइने छैन । मौरी वा यस्तै अन्य प्रजातिको मह निकाल्न नपाइने व्यवस्था गरिएको छ । काटमार गर्ने जाति वा व्यक्तिलाई आफ्ना गाईवस्तु बेच्न पाइँदैन ।
चौँरीगाईको बाच्छोलगायत सानाठूला जलचर, थलचरको हिंसा गर्न बन्देज छ । मासु खाने प्रयोजनले चुम क्षेत्रका कुनै पनि बासिन्दाले पशु आयात–निर्यात गर्न पाइँदैन । किरा, कमिला फट्याङ्ग्राजस्ता जीवको सुरक्षार्थ वनमा आगो लगाउन नपाइने नियम बनाएका सियार/चुम्बाहरू अहिंसाका पुजारी नै हुन् ।
यो जातिमा जातीय कानुन र परम्परा प्रचलित छ । जन्म, छेवर, विवाह, मृत्यु र अन्य सामाजिक संस्कारमा धन्छेन (लामा/मुखिया) ले गर्ने निर्णय गाउँका लागि कानुनसरह हुन्छ । कतिपय विवाद धन्छेनले मिलाउने गर्थे तर अहिले भने क्रमशः स्थानीय तह र प्रहरी वा अदालतजस्ता सरकारी निकायमा पनि स्थानीय विवादले प्रवेश पाउने गरेको छ ।
धानछेन, साकाधावा, चाडपर्व लोकप्रिय छन् । खेतीपती भित्र्याएपछि नागरक पूजा गरिन्छ । नयाँ अन्नलाई देवताको प्रसादका रूपमा पितृहरूलाई चढाएपछि मात्र खाने चलन छ । पूजाका दिन तथा समय र सामान्य विधि लाप्राङ लामाहरूले निकाल्ने तिथिमिति र गाउँबस्ती अनुसार फरक फरक पनि हुन्छ तर समग्रमा सियारहरूमा खेतीपाती लगाउनु र भित्र्याउनुपूर्व भूमि तथा अन्नको पूजा गर्ने चलन छ ।
सियार लामाहरूले उच्चारण गर्ने मन्त्र तिब्बती वा संस्कृत भाषाका हुन्छन् तर उनीहरूको आफ्नै भाषा छ, जसलाई चुम्ब वा नुब्री भाषा भनिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पहिलो पटक यो भाषाका वक्ता चार हजार २८४ पाइएका छन् ।
सियार/चुम्बाहरूले धार्मिक तथा सांस्कृतिक कार्यक्रममा डमरु, त्रिशूल र डम्बुजस्ता बाजा प्रयोग गर्छन । पूजाआजामा ध्वजापताका, खाता (खादा) प्रयोग हुन्छ । महिलाले मुगाको माला लगाउने गर्छन् । कतिपयले कपालमा फुर्के डोरी लगाउने गरेको देखिन्छ । पुरुषका पनि जातीय पहिरन छन् ।
यो क्षेत्रमा खेतीपाती त्यति हुँदैन । खेतीको सन्दर्भमा यस क्षेत्रमा एउटा मान्यता प्रचलित छ, एकपटक कुनै बौद्ध लामाले ध्यान गर्न चुम्बा उपत्यकामा आई रोटी खान माग्दा स्थानीय एक महिलाले आधा रोटी मात्र दिएकाले यस क्षेत्रको करिब आधा भागमा मात्र खेती हुन्छ । आधा भाग भिरालो, चट्टान वा हिउँले पाटिएको छ । अधिक हिउँ पर्ने भएकाले यस क्षेत्रमा ढुङ्गाको गारो र काठ वा ढुङ्गाले छाएका घर हुन्छन् ।
यिनीहरू गहुँ, फापर, केराउ, आलु, तोरीको खेती गर्छन् । परम्परागत ऊनी कपडा बुन्ने, जडीबुटी बेच्ने गर्छन् । तिब्बततिरको व्यापारबाट यिनीहरूको जीवन निर्वाह भएको छ ।
–त्रिभुवनचन्द्र वाग्ले