• १३ साउन २०८१, आइतबार

रुकुमपश्चिममा एसइईको लागि २३ वटा केन्द्र तोकियो

blog

शिक्षा विकास तथा समन्वय इकाई रुकुमपश्चिम । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, चैत ८ गते । आगामी चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रुकुमपश्चिममा २३ वटा परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुमपश्चिमका प्रमुख तारा प्रकाश पुनका अनुसार जिल्लाभर २३ वटा परीक्षा केन्द्रमार्फत एसइई सञ्चालन गर्ने तयारी भएको हो । 

उहाँका अनुसार यस वर्षको एसइई परीक्षामा रुकुमपश्चिमबाट तीन हजार ५९३ जना विद्यार्थीले सहभागिता जनाउने छन् । परीक्षामा साधारणतर्फ एक हजार ७६२ छात्रा र एक हजार ७०८ छात्र गरेर जम्मा तीन हजार ४७० जना विद्यार्थी सहभागी हुने बताइएको छ । 

त्यसैगरी प्राविधिकतर्फ ४७ जना छात्रा र ४९ जना छात्र गरेर ९६ जना र ग्रेड वृद्धितर्फ १२ जना छात्रा र १५ जना छात्र गरेर २७ जना विद्यार्थी सहभागी हुने इकाई प्रमुख पुनले बताउनुभयो । प्राविधिक विषयतर्फ शीतल माध्यमिक विद्यालय चौरजहारीमा सिभिल इन्जिनियर, राप्ती ज्ञानोलय माध्यमिक विद्यालय सिम्लीमा पशु विज्ञान र भेरी दोभान माध्यमिक विद्यालय चाईनाबगरमा बाली विज्ञान पढाई हुने गर्छ । 

एसइईमा जिल्लाका ८२ वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् । जसमध्ये ७६ वटा सामुदायिक, एक वटा खुल्ला र पाँच वटा संस्थागत विद्यालय छन् । परीक्षा मर्यादित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न केन्द्राध्यक्षहरुलाई चैत १२ गते तालिम दिने तयारी भइरहेको जनाइएको छ । एसइई आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने तालिका छ । परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापकहरूलाई नै केन्द्राध्यक्ष तोकिने जनाइएको छ ।