• १४ मंसिर २०८१, शुक्रबार

एक अर्ब बराबरको खानेपानी आयोजना सञ्चालन हुने

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत ८ गते । गोरखाको अजिरकोट गाउँपालिकामा खानेपानीको लागि करिब १ अर्ब बराबरको आयोजना सञ्चालनमा आउने भएको छ । बृहत् पम्पिङ आयोजना अन्तर्गत पालिकाभित्र बसोबास गर्नेहरूको लागि उक्त रकम बराबरको आयोजना सञ्चालनमा आउन लागेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जम्मा ८७ करोड ७८ लाख ८८ हजार २१ रुपियाँ ७७ पैसाको आयोजना बन्ने निश्चित भएको हो । गाउँपालिका र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबिच सम्झौता भएको अध्यक्ष देवकाेटाले बताउनुभयो । अजिरकोट गाउँपालिकामा खानेपानीको निकै अभाव भएकाले पालिकाभित्र बसोबास गर्ने करिब ३७ सय घरधुरी परिवारलाई पानी वितरणका लागि आयोजना सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाले जनाएको छ । 

यस आयोजनाको उपभोक्ता समितिमार्फत करिब ९ करोड खर्च गर्नुपर्ने भएको हुँदा त्यसमा पालिकाको तर्फबाट के कति सहयोग गर्ने विषयमा छलफल गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष देवकोटाले बताउनुभयो । 

अजिरकोट गाउँपालिका भरि नै २४ सै घण्टा शुद्ध पानी पिउने उद्देश्यका साथ गोरखा र लमजुङको सिमानामा रहेको दुधपोखरीको फेदीबाट पाइपलाइनमार्फत पानी ल्याइने भएको छ । त्यसमध्ये मुख्य पाइपलाइन  ४६ किलोमिटर हुने उक्त आयोजनाले ५ वटा वडामा रहेको ३ हजार ७ सय घर धुरीमा जतिबेला पनि पानी दिने गरी आयोजना सञ्चालनमा ल्याउन लागेको हो । 

अजिरकोट गाउँपालिकाको १ देखि ५ वटा वडामा बृहत् पम्पिङ खानेपानी आयोजना कार्यान्वयन गर्न लमजुङमा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबिच सोमबार नै सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । उक्त आयोजनाको लागि सङ्घीय सरकारमार्फत ७९ करोड ९९ हजार २ सय १९ रुपियाँ ५९ पैसा प्राप्त हुनेछ भने उपभोक्ता समितिमार्फत ८ करोड ७७ लाख ८८ हजार ८ सय २ रुपैयाँ ८८ पैसा खर्च गर्नुपर्ने देखिन्छ । बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण हुन लागेकोमा सम्पूर्ण अजिरकोटबासीहरु खुसी भएका छन् ।