• १३ साउन २०८१, आइतबार

सात सयभन्दा बढीको हातमा लालपुर्जा

blog

रेखीराम राना
तानसेन, चैत ८ गते ।
दुई वर्षको अवधिमा सात सयभन्दा बढी व्यक्तिले लालपुर्जा पाएका छन् । जिल्लास्थित भूमि आयोग पछिल्लो दुई वर्षको अवधिमा पाल्पाका ७४७ जना व्यक्तिलाई लालपुर्जा वितरण गरेको जनाएको छ । 

आयोगले रामपुर नगरपालिकाका ७८३ वटा अव्यस्थित बसोबासीका निवेदन परेकोमा ७४७ लाभग्राहीलाई लालपुर्जा वितरण गरेको जनाएको छ । आयोगले नौ वटा लालपुर्जा मालपोत कार्यालयमा अध्यावधिक गरेको, १० वटा आयोगको गठन आदेश अनुसार फछ्र्याैट गरी निर्णय गरेको र १६ वटाको कित्ता एकीकरण गरिएको आयोगका अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । अव्यवस्थित बसोबासीबाट १२ करोडभन्दा बढी राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

समितिले हाल तानसेन नगरपालिका भित्रको अव्यस्थित तथा भूमिहीन दलित तथा सुकुमवासीको क्षेत्रमा काम गरिरहेको जनाएको छ । जिल्लाका दश पालिकामध्येबाट आठ वटा पालिकाबाट मात्र निवेदन प्राप्त भएका थिए । तीमध्ये अधिकांश पालिकाको निवेदन अनलाइन प्रविष्ट गर्ने काम सकिएको आयोगले जनाएको छ ।

आठ वटा पालिकाबाट भूमिहीन दलित ३०३ जना, भूमिहीन सुकुमवासी, ६७१ जना, अव्यस्थित बसोवास सात हजार ३१७ गरी आठ हजार २९१ जनाको निवेदन परेको छ । त्यसमध्ये पाँच हजार निवेदकको आयोगको सिष्टममा दर्ता भएको आयोगका विज्ञ सदस्य कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

पाल्पामा २०५५ सालमा बनेको जिल्ला सुकुमवासी आयोगले वितरण गरेको ४०५ जग्गाको लालपूँर्जाको नक्सा, श्रेस्ता, फिल्डवुक फेला नपरेको समितिले जनाएको छ । अबका दिनमा आयोगले भूमिहीन सुकुमबासी र भूमिहीन दलितको समस्यालाई प्राथमितामा राखेर काम गर्ने आयोगका सदस्य हरिता थापाले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीको समस्या रहेकाले दुई वर्षको अबधिमा ती समस्या समाधानमा काम भएको उहाँले बताउनुभयो । आयोगबाट पर्याप्त प्राविधिक तथा प्रशासनिक कर्मचारी अभावका कारण द्रुत गतिमा काम गर्न नसकेको आयोगले जनाएको छ ।