• १२ साउन २०८१, शनिबार

कृषिलाई प्रथम स्थानमा राखी अगाडि बढेका छौँ

blog

श्रीप्रसाद श्रेष्ठ अध्यक्ष, म्याग्दे गाउँपालिका

तनहुँको म्याग्दे गाउँपालिका साबिकका तीन गाविस छाङ, जामुने र मनपाङ समायोजन भई गठन गरिएको हो । समावेश भएका साबिकका गाविसलाई विभाजन गरी सात वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको सिमाना पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका रहेका छन् । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेकाले यस पालिकाका अधिकांश वडामा सडकको पहुँच पुगेको छ । मगर जाति बाहुल्य रहेको यो गाउँपालिका सुन्तला तथा आलु खेतीका लागि प्रख्यात छ । यस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका तर्फबाट निर्वाचित श्रीप्रसाद श्रेष्ठसँग तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :

चालु आर्थिक वर्षमा हालसम्म सम्पादन गरेका मुख्य मुख्य काम के के हुन् ? 

चालु आर्थिक वर्षमा हालसम्म चार वटा ऐन र ११ वटा कार्यविधि निर्माण भई कार्यान्वयनमा छन् । गाउँपालिकाका चार वटा ऐनको साथमा २८ वटा निर्णय गरेको छ भने कार्यपालिकाले ११ वटा बैठकमार्फत १८४ वटा निर्णय गरेको छ । पदाधिकारी र कर्मचारी गरी ७० जनालाई दुईदिने सेवा प्रवाहसम्बन्धी प्रशिक्षणसहित योग शिविर सम्पन्न गरिएको छ । साथै गाउँपालिका अन्तर्गत सम्पूर्ण वडामा उपभोक्ता समितिका पदाधिकारीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छौँ । वडा कार्यालयहरूबाट महिलाका लागि विभिन्न किसिमका सिप विकास तालिम र कृषि तथा पशुपालनका साथै मौरीपालनसम्बन्धी तालिम सम्पन्न भएका छन् । हालसम्म सम्झौता भएका २४७ वटा योजनामध्ये ८० वटा योजना पूर्ण रूपमा काम सम्पन्न गरी भुक्तानी पूरा भएको छ । फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट व्यवस्था गरी म्याग्देभित्रका फोहोरमैलालाई उचित व्यवस्थापन गरिएको छ । गाउँपालिका प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । 

१० शय्याको अस्पताल, सभा हल र चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा रहेको छ । चार वटा सामुदायिक विद्यालयलाई ४० प्रतिशत अनुदानमा विद्यालय बस प्रदान गरेका छौँ । अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत जनही पाँच हजार नियमित रूपमा वितरण गरिनुका साथै सुत्केरीहरूको हकमा एम्बुलेन्स सेवा निःशुल्क रूपमा प्रदान गरिएको छ । हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप १० हजार रुपियाँ प्रदान गरिनुका साथै आवश्यकता अनुसार ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिक सामग्री वितरण गरिएको छ । दुध उत्पादन गर्ने कृषकलई प्रतिलिटर १० रुपियाँका दरले अनुदान प्रदान गरेका छौँ । निःशुल्क मिर्गौला परीक्षण, स्तन क्यान्सर र पाठेघरसम्बन्धी शिविर दुई चरणमा सञ्चालन गरी पहिचान भएका बिरामीलाई थप उपचारका लागि आवश्यक समन्वय गरेका छौँ । वैदेशिक रोजगारीमा जान चाहने गाउँवासीहरूको स्थानीय तहबाट नै श्रम स्वीकृत गर्ने कार्यको थालनी भएको छ ।

पालिकालाई सेवामैत्री र भ्रष्टाचारमुक्त बनाउन केकस्ता योजना बनाउनुभएको छ ? 

स्थानीय तहबाट प्रदान गरिने सेवालाई पारदर्शी तथा सुशासनयुक्त बनाउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट धेरै प्रयास भइरहेका छन् । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७७, वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ र स्थानीय आर्थिक विकास मूल्याङ्कन कार्यविधि २०७९ अनुसार विभिन्न विषय क्षेत्रका सूचकका आधारमा कार्यालयको सेवा प्रवाह, वित्तीय अवस्था, पारदर्शिताको अवस्था आदिको विषयमा मूल्याङ्कन भइरहेको छ । आव २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा म्याग्दे गाउँपालिका ९४.५ अङ्क प्राप्त गरी गण्डकी प्रदेशमा नै प्रथम हुन सफल हुनुका साथै वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८१ अङ्क प्राप्त गरी तनहँु जिल्लाका १० वटा पालिकामध्ये प्रथम भएको छ । बेरुजु पनि पाँच प्रतिशतभन्दा कम रहेको छ । 

पालिकामा पछाडि परेका समुदायको हितका लागि के काम गर्नुभएको छ ?

आर्थिक तथा सामाजिक रूपमा पिछडिएका वर्गहरूलाई लक्षित गरी विभिन्न किसिमका सिप विकास तालिमको आयोजना गरी आत्मनिर्भर बनाउनका साथै व्यावसायिक रूपमा अघि बढ्नका लागि विभिन्न क्षेत्रमा अनुदान प्रदान गरी व्यवसायी बन्न र रोजगारीको अवसर सिर्जना गर्ने गरिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रका लागि के गर्नुभयो ? 

म्याग्दे गाउँपालिकाले स्थानीय आवश्यकतालाई विषयवस्तु बनाएर कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम विकास गरिएको छ । जसले गर्दा विद्यार्थीमा आफ्नो स्थानीय तहको विषयमा यथार्थ जानकारी प्राप्त गर्ने अवसर मिलेको छ । घर टाढा भई विद्यालय आउन जान समस्या भएका विद्यार्थीका समस्यलाई मध्यनजर गर्दै गाउँपालिकाले चार वटा विद्यालय मिन्ना मावि महेन्द्र मावि, राधा मावि  र जनताणपति माविमा ४० प्रतिशत अनुदानका स्कुल बस प्रदान गरेका छौँ ।

स्वास्थ्य क्षेत्रको विषयमा गाउँपालिकाले नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र हालै मात्र हेल्थ केयर फाउन्डेसन नेपाल, सूर्य नेपाल र यस कार्यालयको संयुक्त साझेदारीमा निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरिएको छ । साथै म्याग्दे गाउँपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ प्रतिष्ठानको संयुक्त आयोजनामा महिलाहरूको पाठेघर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क शिविर सञ्चालन गरी पत्ता लागेका रोगीहरूलाई थप उपचारका लागि सिफारिससमेत गरिएको छ । गाउँपालिकाको साझा लक्ष्य अनुसार यस पालिकामा शिक्षा तथा स्वस्थ्य विषय अत्यन्त संवेदनशील भएको हुँदा निःशुल्क उपलब्ध गराउने नीति तयार भएको र सोही अनुसार आगामी कार्ययोजना निर्माण गरी अघि बढ्ने लक्ष्यमा छौँ । 

किसानलाई प्रोत्साहन गर्न सक्नुभएको छ कि छैन ?

“स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार कृषि, पर्यटन र पूर्वाधार’’ मुख्य नारा रहेको यस म्याग्दे गाउँपालिकाले कृषिलाई विकास सूचकको आधारमा प्रथम स्थानमा राखी अगाडि बढिरहेको छ । यहाँ सुन्तला खेतीले मुख्य चर्चा पाए पनि अन्य खेतीका लागि पनि उति नै उपयुक्त भूमि छ । त्यसैले पालिकाले वार्षिक रूपमा कृषि तथा पशुमा अन्य क्षेत्रमा भन्दा बढी रकम लगानी गर्नुका साथै कृषक लक्षित कार्यक्रम तथा तालिम सञ्चालनमा ल्याइएको छ । मौरीपालनसम्बन्धी तालिम दिई उक्त तालिमपश्चात ५० प्रतिशत लगानीमा मौरीसहितको घार वितरण गर्ने, कृषकहरूलाई दुधमा प्रतिलिटर १० रुपियाँ अनुदान प्रदान गर्ने, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप १० हजार प्रदान गर्ने, आधिकारिक रूपमा फर्म दर्ता गरी व्यावसायिक कृषकहरूलाई उन्नत जातको बोयर बोका अनुदानमा वितरण गरिएको छ । कृषिसँग सम्बन्धित यान्त्रिक मेसिनरी औजारहरू ८० प्रतिशत अनुदानमा वितरण गरिनुका साथै अन्य कार्य नियमित रूपमा सञ्चालन भएका छन् । जसका कारण कृषि क्षेत्रमा आम्दानी बढ्नुका साथै कृषकहरू दिन प्रतिदिन आत्मनिर्भर बन्दै गइरहेका छन् । यसबाट अन्य गाउँवासीमा आफ्नो क्षेत्रमा कृषि गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।