• १३ साउन २०८१, आइतबार

विकासमा ढिलासुस्ती हुँदैन : उपप्रधानमन्त्री महासेठ

blog

उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ एमाले कार्यकर्तासँग । तस्विर– गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, चैत ७ गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विभिन्न आयोजनामा भइरहेको ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताउनुभएको छ । 

नेपालगन्जमा बुधबार नेकपा (एमाले) का अगुवा नेता कार्यकर्तासँगको छलफलमा उपप्रधानमन्त्री महासेठले तोकिएको समयमा काम सम्पन्न गर्ने र निर्माण कार्यमा अटेर गर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभयो । 

उपप्रधानमन्त्री महासेठले भन्नुभयो, ‘सरकारले आर्थिक विकासलाई प्राथमिकतामा राखेकाले निर्माण कार्यमा ढिलाइ नहोस् भन्ने चाहेको छ’ उहाँले थप्नुभयो, “बाँकेको खजुरामा एक हजार ८०० मिटर लम्बाइको चार लेन सडक ६ वर्षमा पनि  निर्माण पूरा नभएको र परस्पुर गौघाट सडकखण्डको समयावधि सम्पन्न हुने अवस्थामा निर्माण कार्य सुस्त भएपछि एमाले बाँकेको टोलीले दुवै ठेक्का रद्ध गरी नयाँ ठेक्का लगाउन उपप्रधानमन्त्री महासेठसमक्ष माग गरेको छ । 

यसैबिच उपप्रधानमन्त्री महासेठले मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखलाई निर्देशन दिँदै कानुनबिपरितको कामलाई जोसुकैबाट प्रस्ताव आए पनि अस्वीकार गर्न आग्रह गर्नुभयो । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित मन्त्रालय मातहतका विभिन्न आयोजना र कार्यालयका प्रमुखहरूको सहभागिता रहेको मर्मत सम्भारसम्बन्धी वार्षिक गोष्ठीमा उपप्रधानमन्त्री महासेठले निर्धक्कसँग काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीको रूपमा मैले भनेको काम समेत कानुनसम्मत छैन भने मन्त्रीज्यू यो कानुनसम्मत छैन भनेर भनिदिनुहोला ।’  कर्मचारीलाई राम्रो काम गर्न निर्देशन दिँदै उहाँले काम गर्नेक्रममा कुनै समस्या आएमा आफूले सहजीकरणको पहल गर्ने बताउनुभयो । आर्थिक विकास र समृद्धिका लागि केही व्यक्तिहरू धनी हुँदैमा देशको समग्र विकास नहुने भन्दै उहाँले आर्थिक विकासमा योगदान दिन आग्रह गर्नुभयो ।