गोविन्द शर्मा
बाँके, चैत ७ गते । बाँकेको खजुरा गाउँपालिका–४ ई गाउँमा युवाहरूको सामाजिक सञ्जाल समूहले बिरामीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
स्वदेश तथा विदेशमा रहेका युवाहरूबिच खबर आदान–प्रदानका लागि बनाइएको समूहले पछिल्लो समय गाउँघरमा आपत्–विपद् परेको अवस्थामा सहयोग गर्ने गरेको सो समूहका सदस्यले बताउनुभएको छ ।
केही दिनअघि समूहका सदस्य दलबहादुर बुढाक्षेत्री मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएपछि भारतको लखनउस्थित अपोलो अस्पतालमा उपचार गर्दा करिब २० लाख रुपियाँ खर्च भएको बताइएको छ ।
सामान्य परिवारका बुढाक्षेत्रीको उपचारमा समस्या आउन नदिन समूहका सदस्यले फेसबुकमार्फत सदस्यबिच दुई लाख बढी रुपियाँ जुटाएर बुधबार परिवारका सदस्यलाई हस्तान्तरण गरेको अभियन्ता गोविन्द खत्रीले जानकारी दिनुभयो ।
खत्रीले भन्नुभयो, ‘आज समूहका एक जनालाई परेको समस्या भोलि अरूलाई पनि पर्नसक्ने भएकाले सदस्यहरूले सक्दो सहयोग जुटाएर परिवारलाई सहयोग गरेका छौँ ।’
समूहका सदस्यबाट स्वदेशमा सङ्कलित एक लाख ५३ हजार ५७४ र वैदेशिक रोजगारीमा रहेका युवाहरूले पठाएको ५१ हजार ४६३ गरी दुई लाख पाँच हजार ३७ रुपियाँ बुढाक्षेत्रीको परिवारलाई हस्तान्तरण गरिएको छ ।
बुढाक्षेत्रीको औषधी उपचारमा करिब २० लाख रुपियाँ खर्च भइसकेको परिवारका सदस्यले बताएका छन् । समय समयमा अस्पतालमा नियमित चेकजाँचका लागि जानुपर्ने बुढाक्षेत्रीले बताउनुभयो । उहाँले साथीभाइको सहयोगको सदैव स्मरण गर्ने बताउनुभयो ।