• १६ वैशाख २०८१, आइतबार

लागूऔषध नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रम

blog

झापा, चैत ७ गते । जिल्लामा लागूऔषध कारोबार र प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषध दुर्व्यसन न्यूनीकरणमा अभिभावकहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाइएको बताउनुभयो । 

“प्रहरीले स्थानीय तहसँग समन्वय गरेर लागूऔषध नियन्त्रण, रोकथाम र अनुसन्धानलाई प्रभावकारी रूपमा काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय किशोरकिशोरीहरु लागूऔषध प्रयोगसँगै कारोबारमा समेत संलग्न बढी देखिए । यसलाई रोक्न अभिभावकसँगै साझेदारी सुरु गरेका हौँ ।” उहाँका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि फागुन मसान्तसम्ममा नौ सय सात जना लागू औषध कारोबारी पक्राउ परेका छन् । जसमध्ये पाँच सय ८० वटा मुद्दा दर्ता भएका छन् । 

सो समयावधिमा पुरुष आठ सय १९ र महिला ८८ जना महिला पक्राउ गरिएको छ । लागूऔषध कारोबारमा महिलाको सङ्ख्या पनि बढिरहेको पाइएको छ । जिल्लामा लागूऔषधमा सबैभन्दा धेरै कारोबार र प्रयोग हुनेमा ब्राउन सुगर रहेको तथ्याङ्क छ । आव २०७८/७९ देखि चालु आवको हालसम्म करिब पाँच केजी ब्राउन सुगर बरामद गरेको प्रहरीको भनाइ छ । 

उपरीक्षक केसीले जिल्लाका मुख्य सहरहरू बिर्तामोड, काँकडभिट्टा, दमकलगायत ग्रामीण क्षेत्र र विद्यार्थीहरूसँग लागूऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले लागूऔषधकै कारण जिल्लामा आपराधिक घटनासमेत बढ्दै गएको बताउनुभयो । “जिल्लामा हत्या हिंसा, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता घटना नियन्त्रण गर्ने हाम्रो उद्देश्य हो”, उपरीक्षक केसीले भन्नुभयो । रासस