• १२ साउन २०८१, शनिबार

कोइरालाको स्मृति दिवसमा बिरामीलाई फलफूल

blog

बिरामीलाई फलफूल वितरण गरिँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत ७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसको अवसरमा कांंग्रेस बाँकेले भेरी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । 

सो अवसरमा भेरी अस्पतालमा उपचाररत १०० जना बिरामीलाई फलफूल वितरण गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले बताउनुभयो । 

कांग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्की, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजँग रायमाझी लगायतले बिरामीलाई फलफूल वितरण गर्नुभयो ।  

सो अवसरमा बाँके कांग्रेसका कार्यवाहक सभापति अधिकारीले राजनीतिमा स्वर्गीय कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै उहाँलाई शान्ति नायकका रूपमा चित्रण गर्नुभयो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक मानिने कोइरालाले सुरु गर्नुभएको शान्ति प्रक्रियालाई दिगोरुपमा व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वर्गीय गिरिजाप्रसाद कोइराला भारत बिहार राज्य सहरको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मनु भएको थियो । उहाँको निधन २०६६ साल चैत ७ गते ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो ।

सशस्त्र सङ्घर्ष गरिरहेको नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाले उहाँलाई निर्भीक र निडर नेताका रूपमा चिन्ने गरिन्छ ।