• १३ साउन २०८१, आइतबार

वर्षाले किसानलाई राहत

blog

ताप्लेजुङको फुङ्लिङ नगरपालिका क्षेत्रमा भइरहेको वर्षा र धुम्मिएको मौसम । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ७ गते । हिउँद भरिको खडेरीले आजित भएका किसानलाई वर्षा भएपछि थाेरै भएपनि राहत मिलेको छ । ताप्लेजुङसहित पूर्वी पहाड तथा हिमाली जिल्लमा मङ्गलबार रातिदेखि वर्षा हुन थालेछि किसानलाई राहत महसुस भएको हो । 

मकै बाली लगाउने समयमा वर्षा नभएपछि किसान चिन्तित थिए । लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानलाई वर्षा हुन थालेपछि राहत महसुस गरेका छन् । हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको (छरेको) राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो । 

मङ्गलबारदेखि भने सामान्य वर्षा हुन थालेपछि मकै खेती लगायत हिउँदे बालीका लागि राहत मिलेको फुङ्लिङ नगरपालिका–५ का स्थानीय विक्रम लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार सामान्य भएपनि वर्षा भएकाले हिउँदे बालीलाई राहत पुगेको छ । पानीको पर्खाइमा मकै बाली लगाउन नपाई बसेका किसानलाई ठुलो राहत मिलेको उहाँले बताउनुभयो ।

जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान दलबहादुर लिम्बूले माटो नभिजे पनि वर्षाले राहत मिलेको बताउनुभयो । धान खेती लगाउने खेत (जग्गा) मा मकै लगाउनलाई ढिलो भइसके पनि सामान्य वर्षा भएसँगै बुधबार (आज) देखि नै रोप्न थालेको लिम्बूले बताउनुभयो । उहाँका अनुसार गाउँका अन्य किसानले पनि मकै खेती लगाउन सुरु गरेका छन् ।

मकै खेती लगाउने मुख्य समय माघ र फागुन महिना भए पनि वर्षा नभएकाले अहिलेसम्म खेती लगाउन पाएका थिएनन् । पानीको पर्खाइमा रहेका अधिकांश किसानले सामान्य वर्षा हुने बित्तिकै धमाधम मकै खेती लगाउन थालेका छन् । मकै खेती लगाउनलाई केही ढिलो भएपनि अहिले लगाएको बालीका लागि थप समय अनुकूल भई दिएमा उत्पादनमा खासै कमी नआउने किसानको भनाइ छ ।

यस्तै, अहिले भएको वर्षाले नगदेबाली अलैँची, फलफूल खेती लगायतका हिउँदे बालीलाई थोरै भए पनि राहत पुगेको किसानले बताएका छन् । लामो अवधिको खडेरीपछि सामान्य वर्षा हुँदा कृषि कर्मका लागि पर्याप्त भने नहुने किसानहरू बताउँछन् । कृषिका लागि समय अनुकूल हुनलाई बेला बेलामा वर्षा हुन अनिवार्य रहेको उनीहरूको भनाइ छ।

यता लामो सुख्खा मौसमका कारण वनमा डढेलो लाग्ने क्रम बढिरहेका बेला वर्षाले राहत मिलेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो । वर्षाले डढेलो नियन्त्रणमा सहयोग पुगेको र थोरै भए पनि वातावरण सन्तुलित बनाउनुमा टेवा पुग्ने ओझाको भनाइ छ । बितेको २४ घण्टामा ताप्लेजुङमा २.५ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जानकारी दिएको छ ।