• १३ साउन २०८१, आइतबार

पाल्पाबाट चार हजार बढी एसइईमा सहभागी हुँदै

blog

फाइल तस्बिर ।

रेखीराम राना

तानसेन, चैत ७ गते । पाल्पाबाट यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् । 

तीमध्ये दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । इकाइ प्रमुख महेन्द्र सुवेदीका अनुसार जिल्लाभरिका २७ जना केन्द्रबाट एसईईको परीक्षा तयारी भइरहेको छ । यो वर्ष नियमिततर्फ चार हजार १० जना र ग्रेड वृद्धिका १७२ जना विद्यार्थी परीक्षा दिने सुवेदीले जानकारी दिनुभयो । त्यसमध्ये दमकडा माविका एक जना दृष्टिविहीन र पाल्पा कारागारका एक जना परीक्षामा सहभागी हुनेछन् ।

एसईई परीक्षा दिनेमा २६७ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । तानसेनस्थित जनता माविमा सञ्चालित एकमात्र खुल्ला विद्यालयबाट जम्मा १५ जनाले एसइइ दिने तयारी गरेका छन् । यो वर्ष सबैभन्दा बढी रामपुरस्थित दरौटी मावि केन्द्रबाट २८७ जना र सबैभन्दा कम बगनासकालीस्थित चन्द्र मावि चापपानीबाट ६० जनाले एसइइ परीक्षा दिनेछन्। 

गत वर्ष २०७९ मा पाल्पाबाट चार हजार ५४६ जनाले एसइइ परीक्षा दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ३६४ जना कम विद्यार्थी एसइइमा सहभागी हुनेछन् ।