जुम्लामा ठुला रुख नहुँदा सुर्खेतमा अभ्यास गर्नुपर्ने बाध्यतामा युवतीको समूह
ललित बसेल
सुर्खेत, चैत ५ गते । काँक्रेविहारका जङ्गलमा करिब एक महिनादेखि १०–१२ जना युवतीको समूह रुख चढ्ने र ओर्लने प्रतिस्पर्धामा छन् ।
बिनाकुनै प्रविधि वा उपकरण हात र खुट्टाको चालमा सालका सुरिला र अग्ला रुखका टुप्पामा पुग्ने र झर्ने उनीहरूको कला अचम्मको छ । काँक्रेविहार मात्र होइन, वीरेन्द्रनगरमै रहेको कुइनेपानी जङ्गलका रुख पनि अहिले यस्तै प्रतिस्पर्धात्मक अभ्यासका कारण चिल्ला बन्न थालेका छन् ।
दैनिक एकदेखि दुई घण्टा रुख चढ्ने र ओर्लने यो प्रतिस्पर्धा भने लोक सेवा आयोगको परीक्षाको तयारीका लागि हो । लोक सेवा आयोगले लिने वनरक्षक पदको परीक्षामा सम्मिलित उम्मेदवारले यसरी अभ्यास गर्दै आएका हुन् । तिनमा महिला मात्र होइन, पुरुषको पनि उत्तिकै सहभागिता छ ।
त्यसरी प्रतिस्पर्धात्मक अभ्यास गर्ने युवती पनि काँक्रेविहार वा सुर्खेत आसपासका होइनन् । काँक्रेविहारमा अभ्यासरत युवती जुम्लाबाट डेरा जमाएर सुर्खेतका विभिन्न स्थानमा बस्ने गरेका छन् ।
जुम्लाको सिँजा गाउँपालिका–४ की १८ वर्षीय सपना बुढा अहिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीमा बसेर यसरी नै लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै आएको बताउनुभयो । उहाँले सङ्घीय लोक सेवा आयोग र कोशी प्रदेश लोक सेवा आयोगमा वनरक्षक पदमा दरखास्त दिनुभएको छ ।
वनरक्षकका लागि रुख चढ्नुपर्ने, पौडी खेल्नुपर्ने जस्ता शारीरिक अभ्यास हुने भएकाले यसरी रुख चढ्नु परेको उहाँले बताउनुभयो । जुम्लामा ठुला रुख नहुने भएकाले सुर्खेतमा आएर रुख चढ्ने अभ्यास गर्नु परेको सपनाले बताउनुभयो ।
उहाँसँगै आउनुभएकी सोही स्थानकै १९ वर्षीय सङ्गीता बुढाले जुम्लामा फरेस्ट्री पढेको र आयोगमा वनरक्षक पदमा दरखास्त दिएकाले अभ्यासका लागि रुख चढेको बताउनुभयो । यदि वनरक्षकमा सफल भएमा जङ्गलमा हिँड्नुपर्ने, रुख चढ्नुपर्ने, पौडी खेल्नुपर्ने हुँदा अहिले त्यसैको अभ्यास गरिरहेको उहाँको भनाइ छ ।
बारम्बारको अभ्यासले अहिले रुख चढ्न सहज भएको जानकारी दिँदै जुम्लाकै कनकासुन्दरी गाउँपालिका–६, पछाडि बाडाकी २१ वर्षीय मालिका पछाईले वनरक्षकको रुख चढ्ने अभ्यास सजिलै पार गर्ने आत्मविश्वास बढेको बताउनुभयो ।
वनरक्षक पदका लागि महिलाले ४.५ मिटर र पुरुषले पाँच मिटर अग्लो रुख चढ्नुपर्ने प्रावधान छ । चढ्नुपर्ने रुख उम्मेदवारलाई तान्न लगाएर चयन गराइन्छ । वनरक्षकका साथै सेनामा पनि रुख चढ्नुपर्ने अभ्यास हुने भएकाले त्यसका लागि पनि अहिले रुख चढ्ने अभ्यास गरेको सपनाले बताउनुभयो । जोखिमको काम भए पनि जागिरका लागि रुख चढ्ने अभ्यास गर्नु परेको उहाँहरूको भनाइ छ ।
बुढाका अनुसार प्रयोगात्मक परीक्षामा गोला तानेर रुख चढ्नुपर्ने भएकाले साना, अग्ला, मोटा जस्तासुकै रुख पनि चढ्न सिक्नु पर्छ । वनरक्षक पदका लागि एक सय पूर्णाङ्कमध्ये ५० अङ्क यस्तै शारीरिक अभ्यासको हुने गर्छ ।
प्रदेश लोक सेवा आयोग, कर्णालीका अध्यक्ष रामप्रसाद उपाध्यायले वनरक्षकमा ५० अङ्क उम्मेदवारको अभ्यासको परीक्षण हुने बताउनुभयो । बाँकी ५० अङ्कमा ३० लिखित र २० अङ्क अन्तर्वार्ताबाट पाउने हुन्छ । ५० अङ्कको प्रयोगात्मक अभ्यासमा रुख चढ्ने, पौडी खेल्ने तथा दुई सय मिटर र तीन हजार मिटरको दौड हुने गर्छ ।
उक्त पदमा अन्य पदको जस्तो धेरै लेखपढ गर्न आवश्यक नभएको आयोगका अध्यक्ष उपाध्यायले बताउनुभयो । प्रयोगात्मक परीक्षामा उत्कृष्ट हुने यसमा सफल हुन सक्ने उहाँको भनाइ छ ।
जोखिमपूर्ण काम गरेरै भए पनि वन रक्षक जस्ता पदमा महिलाको आकर्षण बढेको छ । कर्णाली प्रदेश लोक सेवा आयोगले वन रक्षकको ५२ पदका लागि आवेदन खुलाएकामा महिला पुरुष गरी १२ हजार २३३ जनाले आवेदन दिएका थिए । महिलाले खुला, आरक्षणमा दर्खास्त हालेका छन् । कर्णाली मात्र नभई सुदूरपश्चिम लोक सेवा आयोग, गण्डकी प्रदेश लोक सेवा आयोगले खोलेको वन रक्षक पदमा कर्णाली प्रदेशका जुम्ला, रुकुमपश्चिमलगायतका जिल्लाका युवा बढी उत्तीर्ण हुने गरेको पाइएको छ । शारीरिक अभ्यास राम्रो हुँदा र जोखिम मोल्न सक्ने क्षमता हुँदा उनीहरू जहाँबाट पनि नाम निकाल्न सफल भएको कर्णाली प्रदेश लोक सेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो ।