• १० मंसिर २०८१, सोमबार

दोषी को ? शकुन्तला कि दुष्यन्त

blog

शकुन्तलाले नछुनीबारे गरेकी विद्रोह पचाउन नसकेर आश्रम छाडेका महर्षि कण्व लामो समयपछि फर्के । आश्रममा कुनै समस्या थिएन । सबै राम्रैसँग चलेको थियो । उनका एकसे एक काविल शिष्यले कुनै कमी हुन दिएका थिएनन् । गुरुकुल शिक्षा पनि पूर्ववत् चलेकै थियो तर निजी निवासको हालत भने थप बिग्रेको थियो । घरै छाडेर हिँडेपछि छोरी सुध्रेली, गल्ती मनन गर्ली भनेको किन हुन्थ्यो । उल्टै पेट बढेर दमाहाजत्रो भइसकेको थियो । शरीर कमलाउँदै गएर यति नाजुक बनिसकेको थियो कि छुँदै रगत निस्केला जस्तो देखिन्थ्यो । उता बढेको पेटले महिना नै पुगिसकेको सङ्केत गथ्र्यो । 

छोरीको अवस्था देखेर कण्व रिसले चुर भए । शरीर ताता भए, आँखा राता । रिसले भाउन्न छुटेर आँखै देख्न सकेनन् र तत्कालै धर्मसभा बोलाए । विश्वामित्र, वशिष्ठ, वामदेव, वाल्मीकि, भारद्वाज, गौतम, अत्रि, कश्यप आदि तत्कालीन समाजका जानेमाने सबै ऋषि महर्षि निम्त्याइएका थिए । निश्चित समयमा सभा बस्यो । सभाले पनि तत्कालै विषयवस्तुमा प्रवेश गरी छलफल चलायो । छलफलमा सबैले खुलेर भाग लिए । यो त खुलै व्याभिचार हो, यस्तालाई तत्कालै आश्रमबाट निकाल्नु पर्छ भन्ने मत पनि आयो ।

यस्तो हुनु भनेको सङ्व्रmामक रोग हो, आश्रमभित्र त यस्तो हुन्छ भने अन्यत्र किन नहुने भन्ने सन्देश जान्छ । त्यसैले जे गर्ने हो, तत्कालै गर्नु पर्छ भन्ने मत पनि आए । कतिले यस्ती नकचरीलाई गाउँ घुमाएर बदनाम गराउनु पर्छ ता कि अरू कसैले यस्तो धृष्टता गर्न नसकून् भने । कतिले जसको बाबुआमाको ठेगान छैन, जसलाई कसैले पाप लुकाउन जन्मनासाथ फालेर हिँडेका छन् त्यस्ताले गर्ने व्यवहार भनेकै यस्तै हो भन्न पनि भ्याए । विचरी शकुन्तलालाई छेउमा बसेर पिलपिल आँसु झार्नुको विकल्प थिएन । उनी रोइरहिन् । कठैबरा भन्नेसम्म कोही निस्केनन् ।

विचरी एक त गर्भिणी थिइन् । शरीरमा तागत थिएन । उता एउटी अबोध केटीलाई ललाई फकाई गर्भको भार बोकाउने राजा दुष्यन्त सानमानले हिँडिरहेका थिए । यता उनले भने कुनै जघन्य अपराधी जस्तो बनेर धर्मसभाको कठघरामा उभिनु परिरहेको थियो । यस्तो अवस्थामा बिचरीका लागि रुनु र आँसु झार्नुको विकल्प हुने कुरै भएन । धर्म पनि कस्तो, धर्मसमाज पनि कस्तो, धर्मसभा पनि कस्तो । गल्ती गर्छ एउटाले, सजाय भोग्नुपर्ने अर्कोले । यस्तो सभालाई पनि धर्मसभा भनिन्छ भने पापसभा कस्तोलाई भन्ने ? तर त्यतिबेला उत्तर कसैसँग थिएन । सबै एकोहोरो स्याल हुइँयामै हराइरहेका थिए ।

शकुन्तलाको अवस्था जति नै दयनीय भए पनि अरूलाई खासै प्रभाव परेन तर महर्षि विश्वामित्र भने मौन रहन सकेनन् । एक त उनी तत्कालीन ऋषिमण्डलीमा सुधारवादी ऋषिका रूपमा परिचित थिए । अर्को उनी पनि शकुन्तलाको दुर्नियतिमा जोडिएका थिए । 

त्यसैले मौनं स्वीकृति लक्षणम्को भूमिकामा रहन सकेनन् र सभामा उठेको विचारको प्रतिवाद गर्दै भने, “अहँ यो भएन, हुँदै भएन । हामीले धर्मसभा पनि बसायौँ । सबैले आफ्नो कुरा पनि राख्यौँ तर जसलाई आरोप लागेको छ, लगाइएको छ उसलाई भने अहिलेसम्म एक वचन सोधेका छैनौँ । यस्तो कसरी हुन्छ ? कम्तीमा धर्मसभामा यदि धर्मसभा हो भने यस्तो हुनु राम्रो होइन । अन्यथा समाजको धर्मसभाप्रति नै विश्वास हराउने छ । अरूले के गरे वा गर्छन् त्यसलाई छाडौँ तर धर्मसभाले यस्तो गर्न सुहाउँदैन । शकुन्तलालाई सजाय सुनाउनुअघि उनले यस्तो किन गरिन््, के कस्तो बाध्यता थियो, उनलाई गर्भिणी बनाएर हिँड्ने को हो, कहाँ बस्छ आदि कुराको पनि जानकारी लिनै पर्छ । हो, यिनी व्याभिचारिणी हुन् भने व्याभिचार गर्ने यिनी मात्र हुन् भने यिनलाई सजाय गर्नै पर्छ तर सजाय दिनुभन्दा पहिले उनको कुरा पनि सुन्नु पर्छ । अझ म त भन्छु उसले आफ्नो बचाव गर्ने अवसर पनि पाउनुु पर्छ ।” विश्वामित्रको कुरा धर्मसङ्गत थियो, न्यायसङ्गत थियो । त्यसैले कसैले पनि प्रतिवाद गर्न सकेनन् । त्यसपछि शकुन्तलालाई नजिकै बोलाएर सोधियो । बिचरी पहिले त बोल्नै सकिनन् । त्यति ठुला ऋषिमहर्षिको अगाडि बोलुन् पनि कसरी । लामो समयसम्म अधोमुख गरेर बसिरहिन् । जब केरकार बढ्दै गयो र नबोली सुखै नपाइने अवस्था आयो, तब बिस्तारै आफ्नो पेटमा हुर्कंदै गरेको बच्चा राजा दुष्यन्तको हो भन्दै यसबारेमा आफ्नो सहभागिताको बेलिबिस्तार लगाइन् । 

राजा दुष्यन्तको नाम सुन्नासाथ धर्मसभा मौन भयो । सभासद् कसैको पनि मुखबाट एक शब्द निस्केन । सायद राजाको अगाडि बाबाको दुहाई भनेको यही होला । समाज पनि कस्तो, जो ठुलाबडाको गल्तीमा मौन बस्न रुचाउँछ । धर्मसभासमेत कुनै बहाना बनाई उम्कन खोज्छ । होइन कमजोर छ भने सबै उसैमाथि खनिन थाल्छन् र अन्ततः सजाय भोग्न बाध्य हुन्छ । जो होचो उसैको मुखमा घोचो भनेको यही हो । 

प्रकृतिले विभेद गर्दैैन । प्रकृतिले बनाएको नियमले पनि विभेद गर्दैन । जति पनि विभेद हुन्छ मानिसले बनाएको नियममै हुन्छ । अरूले नगरे पनि धर्मको नाममा बसेको सभाले यस्तो गर्न नहुने हो तर यहाँ त्यस्तै भइरहेको थियो । 

जब राजा दुष्यन्तको नाम आयो तब सबै तैँ चुप मैँ चुप भए । लामो समयसम्म सभामा सन्नाटा छायो तर सभालाई यसै विसर्जन गर्न सकिने अवस्था पनि थिएन । कुनै न कुनै निर्णयमा पुग्नैपर्ने थियो । त्यसैले यहाँ पनि उनै महर्षि विश्वामित्र चुप बस्न सकेनन् र आसनबाट उठेर भने, “ढडियाको माछो ठुलै देखियो तर हामीले कुनै पनि बहानामा उनलाई छाड्नु हुँदैन । नियतिको यस खेलको मुख्य खेलाडी उनै हो । त्यसैले यी बिचरीलाई मात्र दोष दिएर सभा उम्कन सक्दैन, मिल्दैन । जो भए पनि गल्ती गर्नेले सजाय पाउनै पर्छ तर यहाँ त त्यति ठुलो गल्ती भए जस्तो पनि लाग्दैन । उमेर पुगेका केटाकेटीले आफूखुसी जीवनसाथी चुन्न सक्छन् भन्ने नियम बसाउने हामी नै हौँ । स्वयम्बर प्रथाको नियम राख्ने पनि हामी नै हौँ । स्वयंवरको अर्थ के हो भनिरहनुपर्ला । यदि स्वयंवरको अर्थ आफ्नो वर आफैँले चुन्ने हो भने शकुन्तलाले आफ्नो वर आफैँले चुनेकी हुन्, दुष्यन्त चुनिएका हुन् । अभिभावकले खोजेको केटाको गलामा वरमाला लगाउनु चाहिँ सुसंस्कार हुने । स्वयंवर शब्दको अर्थ अनुसार आफैँले रोजेको केटाको गलामा वरमाला लगाउनु चाहिँ व्याभिचार कसरी हुन्छ ?”

उनले अगाडि भने, “अर्को कुरा गान्धर्व विवाहको नियम बसाउने पनि हामी नै हौँ । आठ किसिमको विवाहमा एउटा विवाह गान्धर्व विवाह पनि हो, जहाँ कन्याले आफ्नो जीवनसाथी आफैँ चुन्न सक्छन् । यस्तो अवस्थामा यिनलाई दोषी ठह¥याउनु भनेको हामी आफैँ दोषी हुनु हो । कि धर्मशास्त्रमा गान्धर्व विवाहको नियम नै राख्नु हुँदैन थियो । राखिसकेपछि त्यसलाई स्विकार्न पनि सक्नु पर्छ । त्यसैले सभासमक्ष यिनलार्ई ससम्मान उनकै पतिगृहमा पठाउने व्यवस्था मिलाइयोस् भन्ने प्रस्ताव राख्छु ।”

यहाँ पनि उनको भनाइलाई कसैले काट्न सकेनन् र अन्ततः त्यसैलाई सदर गरी त्यस दिनको सभा विसर्जन भयो । सभा सकिएपछि अतिथिगण सबै आआफ्ना आश्रमतिर लागे । धर्मपिताको नाताले महर्षि कण्वले त्यसको तारतम्य मिलाए ।