• १० मंसिर २०८१, सोमबार

मिथिला मध्यमा परिक्रमा

blog

सभ्यता, संस्कृति र भाषा मानव समुदायको पहिचान हो । मिथिला हाम्रो सभ्यता र संस्कृति हो भनेर गर्वका साथ भनिन्छ । मिथिला क्षेत्रको प्रमुख भाषा मैथिली हो र यो भाषा बोल्ने मानिस मैथिल हुन् । मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास स्वर्णिम एवं गौरवमय छ । इतिहासमा मिथिला वैभवशाली थियो र आज पनि छ । केवल वैभव फर्काउने गरी काम हुन सकेको छैन ।

सनातन संस्कारको महान् अनि पावन उदाहरणीय घटनामध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । त्रेता युगमा रघुवंशी राम र मिथिलाकी राजकुमारी सीताबिच कसिएको लगनगाँठोको गाथा अझै पनि चर्चित छ र आत्मसात् गरिन्छ । राजा जनकको राज्य मिथिला र राजधानी जनकपुरधाम आज पनि शोभायमान छ । जानकी मन्दिरले विश्वभरका हिन्दुको अस्थाको केन्द्र बनेर नेपाललाई चिनाएको छ । मिथिलाको भजन, कीर्तन एवं पुनीत कार्यले आज पनि नेपाली भूमि हरेक पल पुलकित छ ।

शिक्षाका लागि मिथिला उर्वर भूमि हो । पूर्वीय षड्दर्शन (छ दर्शन) मध्ये चार दर्शनको उद्गम स्थल मिथिला नै हो । मिथिला क्षेत्रले नेपाल र भारतबिच सांस्कृतिक र सामाजिक सम्बन्धलाई अटुट रूपमा जोडेको छ । याज्ञवल्क्य, जनक, अष्टावव्रm, न्यायवार्तिकका रचैता उद्योतकर, उदयनाचार्य, गङ्गेश उपाध्याय जस्ता पछिल्ला चिन्तक जनकपुरमै जन्मेका मानिन्छन् । जसले जनकपुरको परिचयमाथि प्रकाश पारेका छन् ।

जनकपुर क्षेत्रको पौराणिक भूगोलका विषयमा विभिन्न साहित्यमा चर्चा पाइन्छ । प्राचीन बौद्धग्रन्थ सुरुचि जातक र गान्धार जातक कथामा मिथिलाको क्षेत्रफल एक हजार दुई सय कोस रहेको उल्लेख छ । त्यस्तै बृहत् विष्णुपुराण अनुसार पूर्वमा कौशिकी (कोशी) नदीदेखि पश्चिममा गण्डक (गण्डकी) नदीसम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा गङ्गासम्म मिथिला फैलिएको थियो ।  गण्डक किनारमा रहेको जङ्गललाई त्यतिबेला चम्परायन भनिन्थ्यो । गण्डकदेखि चम्परायनसम्म फैलिएको क्षेत्र विदेह नामले प्रख्यात थियो; जसलाई तिरभुक्ती वा तिरहुत भन्न थालियो । वर्तमान राजनीतिक भूगोलमा भारतका केही भाग र नेपालका केही भागमा तत्कालीन मिथिला सभ्यता परिवेष्टित थियो भन्न सकिन्छ । मिथिला मध्यमा परिक्रमा प्राचीन मिथिलाको मध्य भागको वार्षिक आवधिक यात्रा हो । त्रेतायुगबाट आजसम्म पनि उत्तिकै महìव र लगनका साथ पुस्तौँपुस्ता चलिआएको छ । यो प्राचीन मिथिलाको मध्य भागको गोलाकार यात्रा हो । यसले ४० कोस अर्थात् १२८ किमी गोलाकार मार्गको दुरी तय गर्दछ । यो १८ औँ शताब्दीमा रचिएको मिथिला महात्म्य महाकाव्यमा उल्लिखित छ । यस परिक्रमाले रामायणका धेरै जसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ । फागुनको औँसीदेखि पूर्णिमासम्म चल्ने यो परिव्रmमामा साधुसन्तलगायत श्रद्धालु भक्तजन मिथिला बिहारी डोलाको पछिपछि परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा पैदल यात्रा गर्ने परम्परा छ ।

महाशिवरात्रि सम्पन्न भएलगत्तै प्रारम्भ हुने यो धार्मिकयात्रा सम्भवतः विश्वमा सबैभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रामध्येको एक हो । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना गरिएको चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी मिथिला मध्यमा परिव्रmमा गर्ने परम्परा छ । 

यस धार्मिक यात्रालाई मिथिलाको माहाकुम्भसमेत भन्ने गरिन्छ । यस परिव्रmमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, बैजनाथधाम र नेपालको मिथिलाका साधु मात्र होइन, गृहस्थ नरनारीसमेत उल्लेख्य रूपमा सहभागी हुने गर्छन् । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेक पाप नष्ट भएर मनोकामना पूरा हुने र मोक्ष प्राप्त हुने धार्मिक मान्यता रहेको छ । जनकले पनि गृहस्थाश्रममै रही सम्पूर्ण राजकाज चलाएरै मोक्ष प्राप्त गर्न सफल भएको मानिन्छ ।

महाकाव्य मिथिला महात्म्यको तेस्रो अध्याय अनुसार कात्तिक, फागुन र वैशाखमा यो परिक्रमा यात्रा गर्न सकिन्छ तर विभिन्न कारणले फागुनमा गरिने परिक्रमा अहिले पनि चलनमा रहेको छ । यस परिक्रमामा रुचि राख्नेको सङ्ख्या र महìव दुवै असाध्यै छ । परिक्रमा अवधिमा १५ धार्मिकस्थलमा विश्राम गर्दै १५ दिनसम्म पैदलयात्रा गरिन्छ । १५ विश्रामस्थलमध्ये ११ नेपालमा र चार भारतमा रहेका छन् । सबै विश्रामस्थल विशेष धार्मिक महìव बोकेका स्थलहरू रहेका छन् । यी स्थलहरूको महìव रामसीता विवाहसँगै राजा जनकसँग विशेष सम्बन्धको मान्यता रहेको छ । यी स्थलमा राम सीता विवाहको विभिन्न विधि सम्पन्न गरिएको मान्यता छ ।

बृहत् मिथिला परिक्रमा, मिथिला मध्यमा परिव्रmमा र अन्तरगृह परिक्रमा गरी तीन प्रकारका मिथिला परिक्रमा हुन्छ । बृहत् मिथिला परिक्रमाले ८४ कोस दुरी ओगटेको छ, त्यसैले यसलाई चौरासी कोसीय परिक्रमा भन्ने चलन छ । यसले गङ्गा नदी, गण्डक नदी, हिमालय र कोशी नदीनजिकको मिथिला क्षेत्रलाई समेट्छ । यसले धेरै ठुलो दुरी तय गर्दछ । मिथिला मध्यमा परिक्रमा बृहत् मिथिला परिक्रमाभन्दा सानो छ । सक्नेले पाँच दिनमा पनि मध्यमा परिक्रमाको यात्रा सकाउने गरेका छन्, तथापि सबैको सहभागिता सुनिश्चिततालाई ध्यानमा राखेर परिक्रमा अवधिलाई १५ दिनको बनाइएको पाइन्छ ।

जनकपुरबाट तीन किमीको दुरीमा रहेको ठेरा कचुरीस्थित मिथिलाबिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोलाको नेतृत्वमा विभिन्न झाँकी र कीर्तन टोलीसहित परिक्रमा यात्रा प्रारम्भ हुने चलन रहेको छ । परिक्रमामा विभिन्न डोलाको समेत सहभागिता रहने गर्छ । परिक्रमा अवधिभर सहभागीहरूले भजन कीर्तनसहित विभिन्न झाँकीमा सहभागी हुने र रमाउने गर्छन् ।

पहिलो दिनको विश्रामस्थल जनकपुरको हनुमाननगर रहेको मिथिला मध्यमा परिक्रमाको दोस्रो दिनको विश्रामस्थल भारतको कलानेश्वर हुन्छ । कलानेश्वरमा रहेको शिव मन्दिरमा राजा जनक शिवको पूजा गर्न आउने गर्थे । यात्राको सङ्कल्प यहीँ ठाउँमा गरिन्छ । तेस्रो दिनको विश्रामस्थल भारतकै फूलहरूको गिरिजास्थान रहेको छ । गिरिजास्थानमै राम र सीताको पहिलो भेट भएको विश्वास गरिन्छ । यहाँ सीता फूल टिप्न आउने गर्थिन् । 

दोस्रो र तेस्रो दिनको भारत विश्रामपछि परिक्रमा यात्रा नेपालको महोत्तरी प्रवेश गर्छ । चौथो दिनको विश्रामस्थल महोत्तरीको मटिहानी रहेको छ । मटिहानीमै सीताको मटकोर भएको थियो । सीताको बिहे हुँदा वेदी बनाउन यहीँको माटो लगिएको भनिन्छ । पाँचाँै दिनको विश्रामस्थल महोत्तरीको जलेश्वर रहेको छ । जलेश्वर महोत्तरी जिल्लाको सदरमुकाम हो र यहाँ बहुचर्चित जलेश्वरनाथ मन्दिर रहेको छ । छैटौँ दिनको विश्रामस्थल महोत्तरीको मडई रहेको छ । मडईमै राम र सीताको विवाह उत्सव सम्पन्न भएको मान्यता छ । सातौँ र आठौँ दिनको विश्रामस्थल पनि क्रमशः महोत्तरीकै ध्वरुवकुण्ड र कञ्चनवन रहेको छ । कञ्चनवनमा राम र सीताले होली खेलेका विश्वास रहेको छ । परिव्रmमा यात्राका क्रममा सहभागीहरूले कञ्चनवन पुगी होली खेलेसँगै मिथिलामा रङअबिर र उत्सवको पर्व होली सुरु भएको मानिन्छ । चौथोदेखि आठाँै दिनसम्मको लगातार पाँच दिनको महोत्तरी विश्रामपछि परिव्रmमा यात्रा नेपालको धनुषा जिल्ला प्रवेश गर्छ । नवौँ दिनको विश्रामस्थल धनुषाको पर्वता रहेको छ । क्षीरेश्वरनाथको दर्शन गर्दै परिक्रमा यात्री रातिको बास बस्न पर्वता पुग्ने गर्दछन् । दसाँै दिनको विश्रामस्थल धनुषाको धनुषाधाम रहेको छ । धनुषाधाममा सीता स्वयंवरको क्रममा रामले भाँचेको धनुषको अवशेष छ । एघारौँ दिनको विश्रामस्थल धनुषाको सतोषर रहेको छ । यहाँ सप्तेश्वर महादेवको मन्दिर छ । बाह्रौँ दिनको विश्रामस्थल धनुषाकै औरहीमा हुन्छ ।

नवौँ दिनदेखि बाह्रौँ दिनसम्मको धनुषा विश्रामपछि पुनः परिव्रmमा यात्रा भारत प्रवेश गर्छ । तेह्राँै दिनको विश्रामस्थल भारतको करुणा रहेको छ । करुणामा राजा जनक करुणा महासागरमा डुबेको मान्यता छ । चौधौँ दिनको विश्रामस्थल बिसौल रहेको छ । बिसौलमा परिक्रमा यात्रीले करही बरी खाने चलन छ । मिथिलामा करही बरी विशेष समयमा खाने चलन रहेको छ । पन्ध्राँै दिनमा परिक्रमा यात्रीहरू पुनः कलानेश्वर हँुदै जनकपुर आई जनकपुरमा बास बस्ने गर्छन् । भोलिपल्ट पूर्णिमाको दिन बिहानै अन्तरगृह परिक्रमापश्चात् परिक्रमा यात्रा समापन हुन्छ ।

मध्यमा परिक्रमामा सहभागीहरू अन्तरगृह परिक्रमामा सहभागी हुनैपर्ने मान्यता छ । अन्तरगृह परिक्रमामा सहभागी नभई परिक्रमा यात्रा सफल भएको मानिँदैन साथै मध्यमा परिव्रmमामा सहभागी हुन नसकेकाहरू पनि अन्तरगृह परिक्रमामा सहभागी हुने गर्छन् । अन्तरगृह परिक्रमामा सहभागी हुनसमेत उल्लेख्य मात्रामा सहभागीहरू आउने गर्छन् । अन्तरगृह परिक्रमाले जनकपुर सहरको गोलाकार मार्ग समेट्छ । जानकी मन्दिर र राम मन्दिरलाई केन्द्रमा राखेर विभिन्न मठमन्दिरमा दर्शन, पूजा गरी अन्तरगृह पञ्चकोसीय परिक्रमा सम्पन्न गरिन्छ । अन्तरगृह परिक्रमा समापन भएको भोलिपल्ट अर्थात् पूर्णिमाको भोलिपल्ट मात्र विधिवत् रूपमा होली मनाउने चलन रहेको छ, तराईमा विशेष गरी मिथिलामा ।

परिक्रमामा सहभागीहरूको सहायताका लागि विभिन्न सङ्घ संस्था र स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य शिविर, खानेपानी र भोजनको समेत व्यवस्था गरेका हुन्छन् । विश्रामस्थलहरूमा यात्रीका लागि विभिन्न सामग्रीको व्यवस्था गर्ने र स्वागत गर्न स्थानीय बासिन्दा सव्रिmय रूपमा सहभागी हुने गर्छन् । परिक्रमामा सहभागी यात्री दिउँसो एक विश्रामस्थलबाट अर्काे विश्रामस्थलमा जाने, बास स्थानको व्यवस्थापन गर्ने र सञ्चालन हुने विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन् । त्यस्तै रातिको समयमा भजन कीर्तनलगायतको कार्यव्रmममा सहभागी हुने र आराम गर्ने गर्छन् । सहभागीहरू रातिको बास गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा बस्ने गर्छन् ।

सिमरा क्षेत्र, सिम्रौनगढ र तिरहुत राज्य भनी चिनिने जनकपुर क्षेत्रले नेपालको पूर्वमध्यकालको इतिहासमा विशेष भूमिका निर्वाह गरेको ऐतिहासिक तथ्यहरूबाट सिद्ध छ । १४ औँ शताब्दीमा नेपालको बाटो भएर भारतसम्म यात्रा गर्ने तिब्बती बौद्ध तीर्थयात्री धर्मस्वामीले आफ्नो यात्रा वृत्तान्तमा मिथिला क्षेत्रको उल्लेख गरेका छन् । सन् १०९७ मा नान्यदेवद्वारा स्थापना गरिएको सिम्रौनगढ राज्यले एकातिर हिन्दु धर्म र संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गरेको थियो भने अर्कोतिर काठमाडौँका मल्ल राजाहरूको राजनीतिमा समेत कूटनीतिक र सैन्य प्रभाव पारेको थियो । लगभग सवा दुई सय वर्षसम्म यो स्वतन्त्र राज्यका रूपमा रह्यो । मिथिलाका राजा जनक, जो नेपालको राष्ट्रिय विभूतिका रूपमा स्थापित छन्, जो पुराणहरूमा व्यास, पाणिनी, अष्टावक्रलगायत ऋषिको लहरमा परिचित छन् । उहाँले विभिन्न ऋषिसँग जिज्ञासुका रूपमा शास्त्रार्थ गर्ने क्रममा जे जति ज्ञान प्राप्त गर्नुभयो, त्यसलाई जनकदर्शन भनिन्छ । जनकका विचारहरू कुनै लिखित ग्रन्थका रूपमा त छैनन् तर महाभारत, श्रीमद्भागवत, देवीभागवत, बृहदारण्यकोपनिषद्, अष्टावक्र, गीतालगायत ग्रन्थमा छरिएर रहेका छन् ।

जनक को हुन् ?

नेपालको सन्दर्भमा जनकपुरधाम अर्थात् मिथिला सभ्यतालाई पौराणिक सभ्यताका रूपमा विवेचना गरिएको पाइन्छ । अयोध्याका राजा मनुका पुत्र निमि, जसका मिथि नामका छोराले मिथिला नामक सहर स्थापना गरेको प्रसङ्ग भविष्यपुराणमा  छ । निमिका पुत्र मिथि नै मिथिलाको संस्थापक भएकाले उनलाई जनक भनिएको र उनकै नामबाट जनकपुर अर्थात् मिथिला नाम रहन गयो र जनक शब्द एक उपाधिका रूपमा प्रचलित भयो । निमि देहरहित मानिएकाले यस क्षेत्रलाई विदेह राज्य पनि भनिन्छ ।