• १३ साउन २०८१, आइतबार

बृहत् शिविरमार्फत १६ सयले लिए स्वास्थ्य सेवा

blog

तापेथोकमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा विरामीको शल्यक्रिया गर्दै चिकित्सकहरु ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित बृहत् स्वास्थ्य शिविरमार्फत एक हजार पाँच सय बढीले सेवा लिएका छन् । एकएक पाइलाको प्राविधिक सहयोग तथा गाउँपालिकाको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन् ।

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुिक्त) का अनुसार शिविरमार्फत कुल एक हजार ६७२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोकमा मङ्गलबार, बुधबार र बिहीबार तीन दिन बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत पालिकाभित्र र आसपास क्षेत्रका सेवाग्राही समेतले स्वास्थ्य सेवा प्राप्त गरेका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरको पहिलो दिन ५०८ जना, दोस्रो दिन ६५२ जना र तेस्रो दिन ५१२ जनाले स्वास्थ्य सेवा लिएका थिए । साधारण शल्यक्रियासहित स्त्री तथा प्रसूति सेवा, नाक, कान, घाँटीसम्बन्धी सेवा, छालारोग सेवा, कजेलोसम्बन्धी रोग भएका बिरामीले परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् । 

यस्तै, मोतिबिन्दु भएको आँखाका बिरामीले शल्यक्रिया सेवा प्राप्त गरेका छन् भने दाँत, हाड तथा जोर्नीमा समस्या भएका बिरामीले शिविरमार्फत उपचार सेवा प्राप्त गरेका गाउँपालिकाले जनाएको छ । बृहत् शिविरमार्फत जेनेरल मेडिसिन, प्याथोलोजी, रेडियोलोजी, इन्डोस्कोपी र बाल रोगसम्बन्धी सेवा प्रवाह भएको गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) ले जानकारी दिनुभयो । 

शिविरमा डा. नेइल पाण्डे, डा. सबिना शाह पहरी, डा. मधु तुम्बाहाम्फे, डा. अमित श्रेष्ठ, डा. कृष्ण केसीसहित १८ जना विशेषज्ञ चिकित्सकसहित ४२ जनाको स्वास्थ्य टोलीले सेवा प्रवाह गर्नुभएको थियो ।