• २२ वैशाख २०८१, शनिबार

त्रिकोणात्मक टी–२० सिरिज : फाइनलमा नेपालको प्रतिद्वन्द्वी पीएनजी

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन २९ गते । हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्नेभएको छ । 

मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यसअघि मङ्गलबार नै भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । 

जितका लागि हङकङले दिएको एक सय २२ रनको लक्ष्य पछ्याएको पीएनजीले १२.४ ओभरमा विना विकेटको क्षतिमा एक सय २४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली  हङकङले १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रन बनाएको थियो । 

शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनायो । दोस्रो स्थानमा रहेको पीएनजीले दुई अङ्क बनायो भने आयोजक हङकङ एक अङ्कसहित अन्तिममा रह्यो । नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण विना नतिजा टुङ्गिएको थियो । 

फाइनल खेल बुधबार हुनेछ । नेपालले आगामी जुनमा आयोजना हुने टी–२० विश्वकप तयारीको लागि हङकङ र पीएनजीसँग हङकङमा त्रिकोणात्मक सिरिज खेलेको हो ।