• १६ वैशाख २०८१, आइतबार

जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा

blog

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेल शिद्धस्थली माविको सातौं दिक्षान्त समारोह तथा ३२ औं अविभावक दिवसलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, फागुन २७ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीले आफ्ना छोराछोरी आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनेको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित संस्थागत सिद्धस्थली माविको आइतबार भएको सातौं दीक्षान्त समारोह तथा ३२ औं अविभावक दिवसमा नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, "सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि नगरपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।"

"आगामी शैक्षिक सत्रबाट नगरपालिका मातहत रहेका सरकारी कार्यालयका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक र जनप्रतिनिधिले अनिवार्य आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेछ । नत्र कारबाही हुन्छ," उहाँले भन्नुभयो, "आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना नगरे नगरपालिकाले कार्यविधि बनाएर तलब रोक्का गरी कारबाही गर्छौं ।"

नीजि विद्यालयले धेरै कुराको मापदण्ड पूरा गर्न आवश्यक रहेको उहाँको भनाइ छ । "सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा भनेर राज्यको ठुलो लगानी छ । कमलामाई नगरपालिकामा मात्रै राज्यको वर्षको ७० करोड रुपियाँ खर्च हुन्छ," मेयर पोख्रेलले भन्नुभयो, "सामुदायिक विद्यालयका शिक्षक नेपाल सरकारबाट तलब खाने । पढाउने बेलामा अरुका छोराछोरी पढाउने, आफ्ना छोराछोरी नपढाउने । त्यो दिनको अन्त्य स्थानीय सरकारले गर्नेछ ।"

सामुदायिक र संस्थागत विद्यालय गरी अहिले मुलुकमा शिक्षाको हिसाबले दुई खालको जनशक्ति तयारी भइरहेको उहाँको भनाइ छ । नगरभित्र अहिले ८४ वटा सामुदायिक विद्यालय र २४ वटा संस्थागत विद्यालय छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सङ्ख्या ५४२ जना र नगरपालिका मातहत रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सङ्ख्या झण्डै पाँच सय रहेको नगरपालिकाले जनाएको छ । हाल दुई हजार बढीको सङ्ख्यामा नगरभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी संस्थागत विद्यालयमा पढ्ने गरेको बताइएको छ ।