स्मिता अर्जेल
मकवानपुरगढी, जेठ २५ गते । चार दिनदेखि पूर्णरूपमा बन्द रहेको हेटौँडा काठमाडौँ जोड्ने कान्ती लोकपथ आइतबारदेखि खुलेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गए राति सकिएकाले आइतबार बिहान साढे १० बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
गत २० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जेठ २१ देखि २४ सम्म सडकमा पूर्णरूपमा आवागमन बन्द गरी बगुवामा काम गर्ने जानकारी दिएको थियो ।
सोहीअनुसार उक्त सडकमा कामदार र प्राविधिक परिचालन गरी काम गरिएको छ । गएको असोजमा आएको बाढीले बागमति पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँच मार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । बेलिब्रिजको भारवहन क्षमता ३० टन मात्र छ ।
सडक आयोजनाले क्षमताभन्दा धेरै भारका गाडी चल्न नदिन आवश्यक निगरानी गर्नका लागि मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अनुरोधसमेत गरेको छ ।