• २७ पुस २०८१, शनिबार

सन्त नेता किसुनजीको जीवनीबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का

blog

नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको शिलान्यास गर्दै ।

सुर्खेत, फागुन २६ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनीबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको शनिबार शिलान्यास गर्दै उपसभापति खड्काले किसुनजीको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने बताउनुभयो ।

“सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरूको जीवनपद्धति कस्तो हुनुपर्दछ, उनीहरूको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किसुनजीबाट हामीले सिक्नु आवश्यक छ”, उहाँले भन्नुभयो । 


मुलुकको जिम्मेवारी लिँदा कसरी जनताप्रति समर्पित भएर काम गर्नु पर्दछ भन्ने अनुपम, अनुकरणीय उदाहरण किसुनजीले दिएर जानुभएको उहाँको भनाइ छ । उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांश समय आफूले सन्त नेताकै शिक्षा दीक्षामा जोडिन पाएको खुसी व्यक्त गर्नुभयो । “उहाँकै नाममा भवन निर्माणको सुरुवात गरेको छ”, उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको सिङ्गो पार्टी सञ्चालन गर्न र जनताप्रतिको उत्तरदायी हुन यो शुभ अवसरले प्रेरणा दिनेछ ।”