• १३ साउन २०८१, आइतबार

एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र

blog

बेदकोट (कञ्चनपुर), फागुन २२ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन ।

पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ । पैँतिस-पैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि वि.सं.२०७३ भदौ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पटक-पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीको ढिलासुस्तीले काम अघि बढ्न नसकेको स्थानीय बताउँछन् ।

समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । पक्की पुल नहुँदा वर्षातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताउनुभयो । “बर्खामा आउने खोलाले बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।” 

ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको स्थानीय दिलबहादुर खत्रीले बताउनुभयो । “सुविधासम्पन्न बाटो र पुल नहुँदा कोही बिरामी परे पनि लैजान समस्या हुने गरेको छ । एम्बुलेन्स आउन मान्दैनन्” उहाँले भन्नुभयो, “समयमै अस्पताल पु र्‍याउन नसक्दा कतिपयले बाटोमै ज्यान जाने डर रहन्छ ।” 

खोलामा पुल नहुँदा स्थानीय अहिले पनि कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । यथाशिघ्र पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । “पुल बन्ने भनेको यत्रो समय बितिसक्दा पनि बनेको छैन”, स्थानीय गणेश रावतले भन्नुभयो, “यहाँका नागरिक सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । अब त निर्माण हुन्छ भन्ने आशा पनि छैन ।”

वि.सं.२०७४ फागुन १५ गते सक्ने गरी वि.सं.२०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले पाँच करोड ४७ लाखमा उक्त पुल निर्माणको ठेक्का पाएको थियो । पछिल्लो पटक म्याद थप गरेर वि.सं.२०७८ चैत्र ३० गते काम सक्नुपर्ने भनिएकामा निर्माण अलपत्र बनेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिनुभयो । 

“पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।” सिग्देलका अनुसार एक महिनाअघि निर्माण कम्पनी निर्माणस्थलमा परिचालन भए पनि सामग्रीको अभावले काममा ढिलाइ भएको बताउँदै आएको छ । रासस