• १३ साउन २०८१, आइतबार

सङ्घीय सरकारको करिब ९३ प्रतिशत बजेट खर्च

blog

केदार तिमल्सिना 

बनेपा, साउन १३ गते । सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि काभ्रेपलान्चोक जिल्लामा विनियोजन गरेको कुल कुल बजेटमध्ये करिब ९३ प्रतिशत बजेट खर्च भएको छ। सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका विभिन्न कार्यालयमा चालु र पुँजीगत गरी कुल १२ अर्ब ८३ करोड ७१ लाख छ हजार ५२४ रुपियाँ विनियोजन गरेको थियो।

सङ्घीय सरकारले जिल्लामा विनियोजन गरेको बजेटमध्ये असार मसान्तसम्म ९२ दशमलव ४ प्रतिशत अर्थात् ११ अर्ब ८७ करोड सात लाख ३७ हजार ९६७ रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

सरकारले जिल्लामा चालुतर्फ १० अर्ब २१ करोड ८० लाख ३९ हजार ३१४ रुपियाँ विनियोजन गरेकोमा नौ अर्ब ४१ करोड ५७ लाख ८७ हजार ६३४ (९२ प्रतिशत) रुपियाँ खर्च भएको थियो।कोलेनिका काभ्रेपलान्चोकका कोष नियन्त्रक चतुर्भुज तिमल्सिनाले गत आवमा सङ्घीय सरकारले जिल्लामा पुँजीगततर्फ दुई अर्ब ६१ करोड ९० लाख ६७ हजार २१० रुपियाँ विनियोजन गरेकोमा असार मसान्तसम्म ९३ दशमलव ७३ प्रतिशत अर्थात् दुई अर्ब ४५ करोड ४९ लाख ५० हजार ३३३ रुपियाँ खर्च भएको बताउनुभयो।उहाँले सङ्घीय सरकारमार्फत जिल्लामा विनियोजन भएको पुँजीगत बजेटमध्ये सबैभन्दा बढी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिले ९७ दशमलव २५ प्रतिशत बजेट खर्च गरेको छ।

प्रतिरक्षा विश्वविद्यालयका लागि ५५ करोड रुपियाँ बजेट विनियोजन भएकोमा ५३ करोड ४९ लाख चार हजार ५२० रुपियाँ बजेट खर्च भएको छ।यस्तै गरी सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले कुल पुँजीगत बजेटको ९४ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ।

उक्त सडक आयोजनाका लागि एक अर्ब ८४ करोड सात लाख ७५ हजार बजेट विनियोजन भएकोमा एक अर्ब ७४ करोड सात लाख ९६ हजार ९५० रुपियाँ खर्च, काभ्रेपलान्चोक जिल्ला अदालतका लागि पुँजीगततर्फ ४५ लाख विनियोजन भएकोमा ६५ प्रतिशत अर्थात् २९ करोड ३९ लाख ५२८ रुपियाँ खर्च भएको छ।त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयका लागि पुँजीगततर्फ ५३ लाख ३० हजार बजेट विनियोजन भएकोमा ६४ दशमलव ६ प्रतिशत अर्थात् ३४ लाख ४६ हजार ३९९ रुपियाँ खर्च भएको कोलेनिका काभ्रेपलान्चोकले जनाएको छ।सङ्घीय सरकारले जिल्लामा रहेका १३ वटा स्थानीय तहसहित कूल ५३ वटा कार्यालयका लागि बजेट विनियोजन गरेको थियो।