• १३ साउन २०८१, आइतबार

किसानलाई 'कृषि एम्बुलेन्स'

blog

सञ्चालनको तयारीमा रहेको कृषि एम्बुलेन्स । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ। सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर सञ्चालन गर्न लागेको हो । 

कृषि एम्बुलेन्स सञ्चालन हुने भएपछि विकट बस्तीका किसानहरू उत्साहित भएका छन् । गाउँपालिका भित्रका किसानले उत्पादन गरेको कृषि उपजको बिक्रीका लागि बजारसम्म पुर्‍याउन सहज होस् भनेर गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । "कृषि एम्बुलेन्स तयार भएर आइसकेको छ । गाउँपालिकाले कार्यविधि बनाएर केही दिनभित्रमा सञ्चालनमा ल्याउने छौँ," उहाँले भन्नुभयो । 

उहाँका अनुसार एम्बुलेन्सका लागि गत आर्थिक वर्ष २०८०-०८१ मा सङ्घीय सरकारबाट प्राप्त भएको १९ लाख ८० हजार र गाउँपालिकाको १७ लाख ३२ हजार रुपियाँ खर्च भएको छ । २५ लाख ७० हजार रुपियाँमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा दश लाख ४२ हजार रुपियाँ खर्च भएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो। 

किसानले उत्पादन गरेको दुध, ताजा तरकारी, आलु, सुन्तला लगायतका कृषि उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउन पालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले भन्नुभयो, "गाउँपालिकाको दुर्गम भेगमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा त्यसै खेर जाने अवस्था छ । कृषि उपजको बजारीकरण गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउन पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ ।"

कृषि एम्बुलेन्सले पालिकाका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको कृषि उपजको ढुवानी गर्ने उहाँले बताउनुभयो । किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा अन्य उपभोग्य सामग्री बिक्री गर्न र उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गरिएको पालिका अध्यक्ष पुनको भनाइ छ । 

कृषि एम्बुलेन्सका लागि सिङ्गल क्यापको बोलेरो जिप खरिद गरी कृषि उपज सढ्नेगल्ने नहोस् भनेर एसी समेत जडान गरिएको छ ।