• १३ साउन २०८१, आइतबार

नागरिकता विवादमा आएका सेनाका उच्च पदस्थमाथि छानबिन होस् : सांसद राणा

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणा ।

काठमाडौँ, साउन १३ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरूको नागरिकता छानबिन गर्न सरकार र संसदीय समितिलाई आग्रह गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपाली सेनाका उच्च पदस्थ व्यक्तिको नागरिकता र जन्ममितिको विवाद मिडियामा आएको भन्दै यस विषयमा छानबिनको माग गर्नुभएको हो।उहाँले नेपाली सेनाको विषयमा यस्ता कुरा उठ्नु राष्ट्र र देशको सुरक्षाको लागि राम्रो नहुने भन्दै छानबिन गर्न रक्षा मन्त्रालय र राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभयो।उहाँले नेपाली सेना देशको गौरव भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘हाम्रो देशको नेपाली सेना देशको गौरव पनि हो।यसले लामो इतिहास पनि बोकेको छ।अहिलेसम्म के भन्दै र बुझ्दै आएको छ भने नेपालमा नेपाली सेना मात्रै एउटा यस्तो संस्था हो, जसमा फोहोरी राजनीतिले धेरै असर गरेको छैन।तर आजकाल पत्रपत्रिका र मिडियामा धेरै कुरा आइरहेको छ, उच्च पदस्थमा बस्नुभएका सेनाका अफिसरको नागरिकताको विषयमा, जन्ममितिको विषयमा धेरै चर्चा, प्रतिचर्चा भइरहेको छ।यो संसदमार्फत् म रक्षा मन्त्रालय तथा राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्न चाहन्छु कि यो विषय के हो ? छानबिन होस् ।’’ 

उहाँले नागरिक उड्डयन प्राधिकरणलाई नियमन गर्ने र सेवा दिने विषयमा छुटाउनुपर्ने पनि बताउनुभयो।