• १३ साउन २०८१, आइतबार

खोप्रा लेकमा चौँरीको रगत पिउने मेला

blog

साधन घर्ती

म्याग्दी (दरबाङ), साउन १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिख स्थित पर्यटकीय स्थल खोप्रा लेकमा चौँरी गाईको आलो रगत पिउने मेला चलेको छ । समुन्द्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइमा अवस्थित खोप्रा लेकमा नाङ्गीगाउँ पाउद्धार संयुक्त चौरीपालक कृषक समूहको आयोजनामा साउन ११ गतेदेखि सञ्चालित आलो रगत पिउने मेलामा सर्वसाधारणको आकर्षण बढेको छ ।

शुक्रबारदेखि सञ्चालित मेलामा दैनिक करिब दुई सय गिलास आलो रगत बिक्री हुने गरेको वडा अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सोही वडा शिखको लरेनी, खोप्रा लेक र बयलीखर्कमा हरेक वर्षको साउन र फागुन महिनामा चौँरी गाईको आलो रगत पिउने मेला लाग्छ । खोप्रा लेकमा मेला १५ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा हिमाली क्षेत्रको यार्सागुम्बा, जटामसी, निरमसी, पाँचऔले लगायतका जडीबुटी पाइने चरनमा चरेका चौँरीगाईको आलो रगत बिक्री हुन्छ । चौँरी गाईको आलो रगत पिएमा विभिन्न रोग निको हुनुका साथै शारीरिक स्फूर्ति बढ्ने विश्वासले खोप्रा लेक आएको घोडेपानीका रणबहादुर पुनले बताउनुभयो ।

चौँरीको रगत पिएर परम्परागत विधिबाट उपचार गराएको हेर्नकै लागी चौँरी मेलामा पुग्नेहरूको सङ्ख्या पनि बढ्दो छ । स्थानीय शिखका गणेश गुरुङका अनुसार ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरिक कमजोरी र हाडजोर्नी सम्बन्धी रोग निको हुनका साथै शारीरिक स्फूर्ति बढ्ने चौँरीको रगत पिउन म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँ लगायत ठाउँबाट खोप्रा लेक पुग्ने गर्छन् ।

चौँरी गाईको घाँटीबाट रगत निकालिने र ठाडो घाँटी लगाएर सनक्कै रगत पिएको फरक प्रकृतिको मेलाको दृश्य अवलोकनका लागि मेला स्थल पुग्ने पनि उत्तिकै भेटिन्छन् । तालिमप्राप्त आम्चीले चौँरी गाईका घाँटीमा विशेष प्रकारको छुराले कोपेर रगत निकाल्ने गर्दछन् । एउटा चौँरी गाईको शरीरबाट २० देखि २५ गिलासम्म रगत निकाल्दा समेत चौँरी गाईको स्वास्थ्यमा कुनै असर नपर्ने बताइन्छ ।

प्रतिगिलास एक सय ५० रुपियाँका दरले चौँरीगाईको आलो रगत बिक्री हुने गरेको छ । यसरी भएको आम्दानीले वडा नम्बर ८ नाङ्गी स्थित हिमाचल उच्च मावि र पाउद्धार मावि सञ्चालनमा प्रयोग हुने गरेको नाङ्गी पाउद्धार संयुक्त चौँरीपालन समितिका सचिव भविन पाइजाले बताउनुभयो । चौँरीको रगत र मासु विक्रीबाट वार्षिक हुने आम्दानी र खोप्रामा नै रहेको समुदायिक लजबाट हुने आम्दानीले दुई विद्यालयका निजी स्रोतका शिक्षकको तलवभत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक सामाग्री खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकास सम्बन्धी विभिन्न गतिविधिमा खर्च गरिएको छ । करिब १६० चौँरी गाईबाट रगत निकालिनेछ ।

जाडोयाममा खोप्रा लरेनी र जलजलामा र बर्खायाममा हिमालको काखमा लगेर चौँरीलाई घुमन्ते शैलीमा हेरालुमार्फत पालिँदै आएको छ ।

खोप्रा लेक क्षेत्रमा २०५३ सालमा डा.महावीर पुनको नेतृत्वमा मुस्ताङबाट ल्याएर चौँरीपालन सुरु गरिएको थियो । खोप्रा लेकबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी,धौलागिरि,गुर्जा लगायतका दर्जनौँ हिमशृङखलालाई नजिकबाट अवलोकन गर्न सकिने वडा अध्यक्ष तिलिजाले बताउनुभयो ।