• ११ माघ २०८१, शुक्रबार

जनताका समस्या समाधानमा केन्द्रित छु : सांसद तामाङ

blog

जननिर्वाचित प्रतिनिधिको पहिले जवाफदेहिता आम नागरिकप्रति हुन्छ । आवधिक निर्वाचनमार्फत सार्वभौम नागरिकको प्रतिनिधिका रुपमा संसदको सदस्यको भूमिका निर्वाह गर्ने सांसदको उत्तरदायित्वबाट मतदाता विमुख भएमा व्यवस्थाप्रतिको विश्वास घट्दै जान्छ । सांसदले जनप्रतिनिधिका रुपमा आफूले गरेका कामको जानकारी नागरिकलाई दिनु लोकतन्त्रको सवल पक्ष हो । यस्तै, निर्वाचित प्रतिनिधिको भूमिकाका विषयमा चासो र जिज्ञासा राख्नु नागरिकको पनि दायित्व हो । यसले लोकतान्त्रिक प्रक्रियाको सशक्तीकरण र जनतासँगको सीधा सम्बन्धलाई अझ बढाउँछ । नागरिकले निर्वाचित गरी पठाएका सांसदले सदनमा के गर्दैछन् ?  सवाल सोधेर जवाफ खोज्न गोरखापत्र अनलाइनले ‘सांसदलाई सवाल’ शृङ्खला सुरु गरेको छ ।

यसको पहिलो शृङ्खला  ‘सांसदलाई सवाल’  मा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ  हुनुहुन्छ । 


२०३० भदौ २५ गते बुवा मेमबहादुर  र आमा पूर्णजोमका छोरा तामाङ नेकपा (एमाले) का नेता हुनुहुन्छ। उहाँ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई २०७९ को आम निर्वाचनमा पराजित गर्दै सांसद बन्नुभएको हो। २०४७ सालदेखि राजनीतिमा सक्रिय तामाङ सुदूरपश्चिम प्रदेश सभा सदस्य, प्रदेश आर्थिक मामिला मन्त्री बनिसक्नु भएको छ ।  नेकपा (एमाले) का नेता एवम् कञ्चनपुर निर्वाचन क्षेत्र १ का सांसद तामाङसँग गोरखापत्र अनलाइनका लागि लक्की चौधरी, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो संवाद :

सांसद लामाले त्यहाँका ४४७ जना उखु कृषकले अझै सरकारबाट पाउने सुविधा नपाएको उहाँले बताउनुभयो । सरकारसँग त्यसको पहल आफूले गरिरहेकाले चाँडै समाधान हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएको र त्यहाँ कतिपय स्थानीयहरू त्यहाँबाट विस्थापित हुनुपरेको, क्षतिपूर्तिको काम बाँकी रहेको, जङ्गली जनावरसँग स्थानीयको द्वन्द्वहुँदा समस्या भइरहेको उहाँको भनाइ छ । त्यसको व्यवस्थापनमा आफू लागिपरेको र समाधान नीतिगतरुपमा समाधान हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उहाँले प्रष्ट पार्नुभयो । 

सांसद तामाङले सो क्षेत्रमा रहेका आदिवासी समुदाय रानाथारु, डँगौरा थारुसहित अन्य नागरिकको भूमिसँग सम्बन्धित समस्या समाधानमा पनि आफूले ध्यान दिएको उहाँले बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी भारतीय सीमासँग जोडिएको खुला सिमाना भएकाले अनेक समस्याहरू रहेको र भन्सारमार्फत राजस्व असुलीमा समेत समस्या भएको बताउनुभयो । 

छोटी भन्सारमार्फत राजस्व सङ्कलन बढाउन सशस्त्र प्रहरी तथा जनपद प्रहरीहरू पनि सीमा क्षेत्रमा तैनाथ भए पनि अझ प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । स्थानीय नागरिक, व्यापारीलाई पनि राजस्व वृद्धि तथा राजस्व छलीमा कमी गर्न जनचेतनामूलक कार्यक्रम गर्दैआएको उहाँले प्रष्ट पार्नुभयो । 

जनप्रतिनिधिमा निर्वाचित भएको २० महिना पुगेको बताउँदै सांसद तामाङले भन्नुभयो, “लालपुर्जा नपाएर भूमिविहीन भएकालाई भूमि उपलब्ध गराउने, अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउन पहल गरिरहेको छु, यसमा सरकार तथा मन्त्रालयका सचिव तथा सरोकारवालासँग पनि नियमित छलफल र पहल गरेको छु । आशा गरौँ यी समस्या चाँडै समाधान होलान् ।”

‘सांसदलाई सवाल’ कार्यक्रमले जनप्रतिनिधिलाई जनतासामु उत्तरदायी बनाउने उद्देश्य राख्दछ । प्रतिनिधिसभाका लागि निर्वाचित सांसदले आफ्नो कार्यकालको क्रममा गरेका निर्णय र क्रियाकलापको जिम्मेवारी जनतासामु प्रस्तुत गराउने गर्दछन् । यसले सांसदलाई जनतासामु पारदर्शी र जबाफदेही बनाउँछ । 

संवादले लोकतान्त्रिक प्रक्रियाको सशक्तीकरण र जनतासँगको सीधा संलग्नता बढाउन मद्दत गर्ने हामीले विश्वास गरेका छौँ । यस कार्यक्रमले सांसदहरूको कार्य प्रणालीलाई अझ प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले यो संवाद शृङ्खला सुरु गरिएको हो । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।