नागेन्द्रकुमार कर्ण
महोत्तरी, फागुन २० गते । जलेश्वरनाथ महादेव मन्दिर बाहेक जलेश्वरको पहिचान के ? भन्ने प्रश्नमा जलेश्वरनाथ महादेव मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वेश्वर प्रसाद साह अलमलिनुभयो । केही बेर चुप लागेर उहाँले यो प्रश्न एकदमै गाह्रो भएको र अहिले केही भन्न नसकिने जवाफ दिनुभयो ।
त्यस्तै, जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीलाई समेत सोही प्रश्न तेर्साउँदा उहाँ पनि सोचमग्न हुनुभयो । ‘म त केही देख्दिन’ एकछिन सोच्नुभएका चौधरीले सुस्केरा हाल्दै बिस्तारै भन्नुभयो ।
दुई जना मात्रै होइन, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पहिचान बाबा जलेश्वरनाथ मन्दिरबाहेक अरू के ? भन्ने प्रश्नमा दर्जनौँ व्यक्तिहरू निरुत्तर बने । जलेश्वरमा कुनै पनि स्थानीय उत्पादनहरू कोसेली, उपहार वा जलेश्वरनाथ महादेव मन्दिरको प्रसादको रूपमा पहिचान बनाउन नसकेको कारण सबै जना निरुत्तर बनेको बुझाई जलेश्वरका अनुसन्धानकर्ता युवा राकेश प्रसाद चौधरीको छ ।
जलेश्वरनाथ महादेव मन्दिरको बारेमा पुस्तक समेत लेख्नुभएका अनुसन्धानकर्ता चौधरीले विगतमा अञ्चलको सदरमुकाम, सर्लाही महोत्तरी गोश्वारा लगायतका पहिचान जलेश्वरले बनाएपनि जलेश्वर अहिले पहिचानको खोजीमा रहेको बताउनुभयो ।
जलेश्वर महादेव मन्दिरमा पूजापाठ गर्न अथवा जलेश्वर क्षेत्र घुमघाम गर्न आउनेले स्थानीयसँग एउटै प्रश्न गर्छन् कि जलेश्वरबाट नासो, उपहार वा सनेसको रूपमा कुन समान लिएर जान सकिन्छ ? पर्यटक तथा श्रद्धालुले सोध्ने यस्तो प्रश्नको जवाफ स्थानीयसँग हुँदैन । पसलमा जाँदा विदेशी समानबाहेक स्थानीय कुनै उत्पादन नै छैन । खाना तथा नास्ता पसलमा समेत परम्परागत खानेकुरा पाउन छोडेको युवा चौधरीको गुनासो छ ।
भगवान् महादेवमाथि चढाइएको प्रसाद नखाने मान्यता रहेको कारण जलेश्वरमा कुनै विशेष परिकारको प्रसाद नरहेपनि विगतमा भगवान् शिवको प्रिय मानिने भाँगको पेडा, मालपुवा, लङ्गलत्ति (मिठाई) चिनिया लड्डु (चिनीबाट बनाइएको गोलो) तथा वतासा (चिनीले बनाइएको चार कोण भएको मिठाई) प्रसादको रूपमा ग्रहण गर्ने गरिएको बुढापाकाहरू बताउँछन् ।
जलेश्वरनाथ मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वेश्वर प्रसाद साहले विगतमा मन्दिर नजिकको पसलहरूमा भाँगको पेडा बिक्री हुने गरेपनि त्यो कोसेली, उपहार वा प्रसाद नभएको बताउनुभयो । विगतमा जलेश्वरमा रक्सी (तारी बाहेक) को उपलब्धता कम भएकोले यसको प्रयोग देखिएपनि चिनीबाट बनाइएको लड्डु तथा वतासाको प्रयोग कोसेलीको रूपमा देखिएको बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले विगतमा जलेश्वर माछाको लागि प्रसिद्ध रहेपनि माछाको ब्राण्डिङ्ग र प्याकेजिङ नहुँदा सो पहिचान पनि लोप हुँदै गएको बताउनुभयो । यद्यपि महोत्तरीको माछाले मधेशको चार पाँच वटा जिल्ला धान्न सफल भएकोले यसलाई पहिचानको रूपमा लग्न सकिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
जलेश्वरको पानीमा आर्सेनिक नभएको कारणले माछाको स्वाद अन्य ठाउँको तुलनामा यहाँको राम्रो भएकोले काठमाण्डौं लगायतका क्षेत्रहरूमा अझै पनि जलेश्वरको माछा यहाँ पाइन्छ भनेर प्रचारप्रसार गर्ने गरिएको बुझाई उहाँको छ ।
त्यसैगरी जलेश्वर, मटिहानीक्षेत्रहरुमा रहेको पोखरीहरूमा मखानको उपलब्धतता बढी भएकोले यसलाई जलेश्वरनाथ महादेव मन्दिर दर्शनको लागि आउने पर्यटकहरुलाई कोसेलीको रूपमा लग्न प्रोत्साहित गर्न सकिने र यसक्षेत्रको पहिचान बनाउन सकिने बुझाई महासचिव चौधरीको छ ।
जलमा विराजमान रहनुभएका बाबा जलेश्वरनाथको पानीबाट चर्मरोग निको हुने विश्वास रही आएकोले पनि बाबा जलेश्वरनाथ बस्ने गुफाको पानीमा फुल, वेलपत्र, माला लगायतका सामग्रीहरू राख्न नदिई सफा पानीलाई ब्राण्डिङ्ग गर्ने हो भने राम्रो हुन सक्ने बुझाई धेरैको छ । जलेश्वर नगरपालिका वडा नं. २ बस्ने दिपु कुमार साहले त्यो बाहेक जलेश्वरनाथको मूर्ति, लकेट, कोटमा लगाइने ब्याच, लकेटहरु बनाएर पनि यसलाई कोसेलीको रूपमा प्रयोग गर्न सकिने जानकारी दिनुभयो ।
सिकिको डलिया र हस्तकलाका सामग्रीहरूलाई व्यवसायीक रूप दिन भिजिट जलेश्वर अभियानले जनजागरण गरिरहेको छ । यस अभियानमा व्यवसायी तथा स्थानीय सकारले सहयोगीको भूमिका खेलेमा जलेश्वरमा एउटा निश्चित कोसेलीको ब्राण्ड बन्ने अधिकांश युवा दाबी गर्छन् । तर ब्राण्ड कसले बनाउने विषयमा सर्वपक्षीय समन्वय र सहकार्यको आवश्यकता रहेको युवाहरूले जोड दिएका छन् ।