लक्ष्मी चौधरी
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनार प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदीले बुधबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। पाँच दलको गठबन्धनको समर्थनमा उहाँलाई मुख्यमन्त्री बनाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
लोसपा, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) सहितको पाँचदलीय गठबन्धनले ५६ जना सांसदको समर्थनसहित सोनारलाई मुख्यमन्त्रीमा दाबी पेश गरेको थियो ।
यसअघि जनमत पार्टी नेतृत्वको सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार प्रदेशसभाको रोष्टमबाटै राजीनामाको घोषणा गर्नुभएको थियो। सिंहले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको थियो।
त्यसपछि बुधबार लोसपा नेतृत्वको पाँच दलीय गठबन्धनले दाबी पेस गरेसँगै सोनारलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरिएको हो।
मधेश प्रदेश सरकाकार नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनार र प्रदेश प्रमुख सुमित्रा सुवेदी । तस्बिरः लक्ष्मी चौधरी