रमेश विश्वकर्मा
गुल्मी, फागुन १९ गते । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ स्थित रेसुङ्गा माध्यमिक विद्यालय कार्यसम्पादनमा उत्तम विद्यालयको रूपमा रहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञ परीक्षक योगेन्द्र प्रसाद बरालले यस विद्यालयलाई कार्यसम्पादनमा उत्तम विद्यालयका रूपमा घोषणा गर्नुभयो ।
विज्ञ परीक्षक बरालले फागुन १४ देखि १७ गतेसम्म विद्यालयको कार्यसम्पादन परीक्षण गर्नुभएको थियो । विद्यालयसँग सम्बन्धित विभिन्न ८९ सूचकका आधारमा गरिएको परीक्षणमा यस रेसुङ्गा माध्यमिक विद्यालय ९१.११ प्रतिशत अङ्कसहित कार्यसम्पादनमा उत्तम विद्यालयका रूपमा घोषणा भयो ।
शैक्षिक गुणस्तर केन्द्रले सामुदायिक विद्यालयहरूको लगानी, प्रक्रिया र उपलब्धिमा केन्द्रित रहेर विद्यालयको परीक्षण गर्ने गर्दछ । जसमा विद्यालय भवन, विद्यालयमा समुदायको सहभागिता, विद्यार्थीहरूको उपलब्धि स्तर, शिक्षकहरूको कक्षा अवलोकन, विद्यालय घेराबार, अभिभावकको विद्यालयप्रतिको धारणा, विद्यार्थीहरूको विद्यालयप्रतिको धारणा लगायतका विषय परीक्षणको सूचकका रूपमा रहेका छन् । परीक्षणको क्रममा ७० देखि ८९ सम्म अङ्क ल्याउने विद्यालय राम्रो र ९० भन्दा बढी अङ्क ल्याउने विद्यालय उत्तम विद्यालयको रूपमा चिनिन्छन् । त्यसैक्रममा विज्ञ परीक्षक योगेन्द्र प्रसाद बरालले रेसुङ्गा माध्यमिक विद्यालयलाई उत्तम विद्यालयको रूपमा घोषणा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक भागिरथ भण्डारीले विद्यार्थी, शिक्षक, अभिभावक र समुदायको राम्रो सहयोग भएको कारण विद्यालयले यो सफलता प्राप्त गरेको बताउनुभयो । त्यसका साथै उहाँले विद्यालयको सकारात्मक परिवर्तनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । २०२५ सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । जसमा १३०९ विद्यार्थी सङ्ख्या र शिक्षक कर्मचारी ५८ जना हुनुहुन्छ ।